logo
२०८१ बैशाख ७ शुक्रवार



प्रेमका लागि दिवस !

विचार/दृष्टिकोण |




गीता अधिकारी

आज चर्चा छ, प्रेम दिवस (भ्यालेन्टाइन डे) को । नेपालमा पनि पछिल्लो समय प्रेम दिवसले व्यापकता पाउँदै गएको छ । फेब्रुअरी १४ (आज) लाई प्रेम दिवसको मुख्य दिन मानिए पनि एक हप्ता अघिदेखि नै विभिन्न दिनहरूका रूपमा यो दिवसले आफ्नो व्यापकता फैलाउँदै लगेको छ । फेब्रुअरी १४ मात्र हैन, फेब्रुअरी ७ देखि नै भ्यालेन्टाइन डेका महŒवपूर्ण दिन सुरु हुने गर्दछन् । फेब्रुअरी ७ मा रोज डे, ८ मा पर्पोज डे, ९ मा चक्लेट डे, १० मा टेड्डी डे, ११ मा प्रमिस डे, १२ मा हग डे, १३ मा किस डे र १४ मा भ्यालेन्टाइन डे ! तथापि, नेपाली समाजमा भने खासगरी १४ फेब्रुअरीलाई विशेष लिने गरिन्छ । केही वर्षअघिसम्म नेपालमा यो दिवसको खासै चर्चा नभए पनि पछिल्लो पुस्तामा भने यसको संस्कृति झाँगिदो
छ, यतिबेला ।
भ्यालेन्टाइन डेको सुरुवात यसरी भयो भनिन्छ– भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोले देशवासीलाई सैन्य भर्तीमा सामेल हुन उर्दी जारी गरे । महिलासँगको सम्बन्धका कारण पुरुष कमजोर हुने ठानी सम्राटले प्रेम र विवाहमा रोक लगाए । रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको उक्त अभियानलाई विरोध गरेकाले धेरै सैनिकले विवाह गरे । आफ्नो अभियान असफल भएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिए । जेलमा छँदा जेलरकी छोरी र भ्यालेन्टाइनबीच प्रेम बसेकाले मृत्युदण्ड अघि ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र दिए । २६९ फ्रेबअरी १४ तारिखका दिन उनलाई मृत्युदण्ड दिएकाले यसै दिनलाई प्रणय दिवसका रूपमा मनाउने गरिएको छ ।
प्रविधिको विकाससँगै विश्व साँघुरिँदै गएको छ । योसँगै विश्वव्यापीकरण र आधुनिकीकरण हुँदै पश्चिमी परिवेशका संस्कृति पनि विश्वभर परिचित भइसकेका छन् । क्रिसमस, अङ्ग्रेजी नयाँ वर्ष आदि यहाँको परिवेशमा नौलो रहेनन् । त्यस्तै, भ्यालेन्टाइन डे पनि यहाँको परिवशेमा खासगरी युवकयुवतीमाझ लोकप्रिय बन्दै गएको छ ।
प्रेमसम्बन्धमा रहेका युवकयुवतीमात्र होइन, प्रेम गर्ने तर्खरमा रहेका युवकयुवतीका लागि पनि भ्यालेन्टाइन डेको दिन उपयुक्त मानिन्छ । यस दिन युवकयुवती आफूले मन पराएको व्यक्तिलाई रातो गुलावको फूल, कार्ड र उपहार दिई प्रेम प्रस्ताव राख्ने गर्दछन् । त्यसो त, मोबाइल फोन, एसएमएस, फेसबुक र नियमित च्याटले उनीहरूबीच धेरै कुराकानी भइसकेका हुन्छन् र मनका कुरा अलिअलि खोलिसकेका पनि हुन्छन् । तर पनि भ्यालेन्टाइन डेमा सरप्राइज गिफ्ट (आश्चर्यको उपहार) दिने, सरप्राइज प्रेम प्रस्ताव राख्नाले सम्बन्ध अझ प्रेमिल बन्छ भन्ने विश्वास रहेको पाइन्छ ।
युवकयुवतीमात्र होइन, वयस्क जोडीहरू पनि यो विशेष अवसरमा आफ्ना ‘पार्टनर’लाई विशेष उपहार दिने र डिनर (रात्रिभोज) गर्न लैजाने आदि सामान्य बनिसकेको छ । खासगरी सहरियाजनमा त यो एकप्रकारको संस्कृति नै बन्न थालेको छ । प्रेम दिवस पाश्चात्य संस्कृति भए पनि यो विशेष दिनले दाम्पत्य जीवन वा ‘पार्टनर’हरूमा अझ प्रेम, आदर, सम्मान बढाउने उनीहरूको तर्क छ । त्यसो त यसलाई पश्चिमेली छाडा संस्कृतिको संज्ञा दिनेहरूको पनि कम छैन । प्रेम दिवसकै दिन एक थुँगा फूल दिएरमात्र चोखो प्रेम प्राप्त गर्न सकिएला र ? हुन त चोखो माया र प्रेम गर्न न कुनै मौसम चाहिन्छ, न चाड नै । आपसमा प्रेम, सद्भाव र माया बढाउने चाड वा अवसरहरू हामीमाझ नै
यथेष्ट छन् ।
युवकयुवती भ्यालेन्टाइन डेमा रमाइरहेकै बेला केही मानिसले भने यसलाई नेपाली संस्कृतिमाथिको अतिक्रमण भनी चिन्ता व्यक्त गरेका छन् । हामीहरू हाम्रा चाडपर्वलाई बेवास्ता गरी पाश्चात्य संस्कृतिमा रमाइरहेका छौँ । पश्चिमेली संस्कृतिका रूपमा हेरिँदै आएको यो पर्व बिस्तारै पूर्वीय समाजमा पनि प्रचलित बन्दै गएको छ । सूचना र प्रविधिले साँघुरिँदै गएको विश्वमा एकठाउँको संस्कृति वा पर्व विश्वभर नै पुग्ने गर्दछ । यसलाई कुनै भौगोलिक सीमामा मात्र सीमित
राख्न सकिन्न ।
केहीले देहका लागि पे्रम गर्छन् त केहीले आत्मीय प्रेम । प्रेम त न सुरु हुन्छ, न यसको अन्त्य नै । यसमा न कुनै स्वार्थ हुन्छ न कुनै प्राप्ति । अहिले आएर भ्यालेन्टान डेलाई प्रेम दिवसका रूपमा हामीकहाँ चर्चा गर्न थालिए पनि ‘प्रेम’ शब्द संस्कृतबाट विकसित भएको हो, जसको अर्थ हुन्छ– ‘इच्छा’ वा ‘कामना’ । प्रेमलाई प्रीति, माया, ममता, अनुराग, स्नेह, प्रणय, प्यार आदि विविध अर्थमा प्रसङ्ग गरिन्छ । विश्व प्रेमको परिधिमा नै सञ्चालित भएको हुन्छ । प्रेमले नै मानिसलाई आशा, धैर्य, क्षमा, सहिष्णुता प्रदान गर्दछ । जसले प्रेमलाई बोध गरेको हुन्छ, उसकानिम्ति प्रेम धैर्य हो, प्रेम सहिष्णुता हो, प्रेम प्रतीक्षा हो, प्रेम सेवा हो ।
शिष्टता, विनम्रता, सौम्यता, भद्रता, अनुग्रह, करुणशीलता, नम्रता प्रेमकै अभिव्यक्ति हुन् । प्रेम पदार्थमा हुन्छ, प्रेम चेतनामा हुन्छ । प्रेम मायालुको आँखामा हुन्छ, प्रेम पत्नीको ईष्र्यामा हुन्छ, प्रेम आमाको बोलीमा हुन्छ, बाबुको हप्काइमा हुन्छ । प्रेम मातृत्वमा खेल्छ, भ्रातृत्वमा बाँँच्छ, मित्रतामा हाँस्छ । यत्रतत्र सर्वत्र सबैतिर प्रेम छर्न सके सबैतिरबाट प्रेम नै पाइन्छ । प्राप्तिको अपेक्षा नराखी अन्तरआत्माबाटै प्रस्फुटित हुने हृदयको झङ्कार नै प्रेम हो । प्रेम दिवसका रूपमा होइन, हरेक दिनका आफ्ना क्रियाकलापमा जरुरी हुन्छ । सबैभन्दा ठूलो प्रेम देशप्रेम हो । प्रेम सबै धर्म, दर्शन अध्यात्म र रहस्यवादको प्रकृति हो, सŒव हो । प्रेमलाई सस्तो रूपमा नबुझौँ । भनिन्छ, प्रेममा रोमान्स हुन्छ तर रोमान्समा प्रेम नहुन सक्छ ।
पछिल्लो समय प्रेममा हिंसाको पनि प्रवेश भएको पाइन्छ । प्रेमीको प्रस्ताव स्वीकार नगर्दा हिंसाको सिकार हुनुपरेका थुप्रै घटनाहरू हामीमाझ छन् । कति सजिलै भन्छन् म तिमीलाई माया गर्छु तर त्यही माया गर्छु भन्ने मान्छे राक्षसका रूपमा प्रस्तुत भएका घटनाहरू धेरै छन् । पूर्वीय संस्कृतिका रूपमा आएको भए पनि प्रेम दिवस मनाइरहँदा प्रेमलाई सस्तो नबनाइयोस् । कुनै दिन यस्तो नआओस्– प्रेम भन्ने शब्दप्रति नै घृणा उत्पन्न नहोस् । प्रेम दिवस मनाइरहँदा घातप्रतिघात र क्षणिक माया प्रेमभन्दा पनि सर्वत्र प्रेममय होस् ।
(लेखक पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?