logo
२०८१ बैशाख ४ मंगलवार



मार्सी धानको वीउ राख्दै किसान

खुला |
प्रदेश |


मार्सी धानको वीउ राख्दै किसान
चन्दननाथ नगरपालिका खोलिकोटमा मार्सी धानको वीउ छर्दै महिला । तस्विरः नेत्र शाही



नेत्र शाही
खलङ्गा, चैत २० गते । लक डाउनले शहर ठप्प छ । तर गाउँमा किसानहरु आफ्नो खेतबारीमा रमाएका छन् । बिहीबार जुम्लाको चर्चित कालीमार्सी र रातीमार्सी धानको किसानले यतिबेला वीउ राख्नमा व्यस्त भएका छन् ।
जुम्लामा परम्परागत संस्कार अनुसार किसानले चैत २० गते धानको वीउ राख्ने चलन अनुसार जुम्ली किसानले खेतमा धानको वीउ राखेका हुन् । किसानले पुरानो संस्कार अनुसार चैत १२ गते पानीमा वीउको बोरा राखेर भिजाउने, चैत १६ गते बाहिर निकाल्ने र चैत २० गते खेतमा छर्ने चलन छ । जस अनुसार जुम्ली किसानले चैत २० गतेका दिन सधैंजसो मार्सी धानको वीउ छर्ने गरेका छन् ।
लक डाउनको विचमा पनि किसानहरु आ–आफ्नो व्याडमा गएर वीउ छर्नमा व्यस्त थिए । चैत २० गतेको दिनलाई खस संस्कारमा बिसुवा वा बिच्छेति भनिन्छ । जुन धान रोप्ने दिन यहाँको संस्कारमा धान उत्पादनको आरम्भ दिनको रुपमा लिने गरिन्छ ।
यहाँको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैले चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आ—आफ्नो मान्ने कूलदेबतालाई सम्झेर चैत १२ गतेबाट वेर्ना राख्ने गरिएको जानकारहरु बताउँछन् । चन्दननाथ नगरपालिका २ खोलिकोटका ४६ वर्षीय किसान धनबहादुर बुढ्थापाले परम्परादेखि चैत २० गते मार्सीको वीउ छर्ने चलन रहेको बताउनुभयो ।
जुम्लामा मार्सी घान खेतीको लागि चन्दननाथ बाबाले दिएको उपदेशको आधारमा कर्णालीमा घान खेतीको सुरुवात गरेको बताइन्छ । श्री साक्के ९६३ अथात बि.स १०९८ सालमा जुम्लामा धान खेती सुरुवात गरेको इतिहास छ भने पुरै विशाल खस सिंजाराज्य भरी बि.स १११२ सालमा धानको खेती लगाएको इतिहास रहेकोछ ।
चन्दननाथ बाबाको उपदेश अनुसार चैत १२ गते विभिन्न तरिकाले वीउ राखेर २० गते व्याडमा लगेर साथै आफन्त र छोरी कुटुम्बलाई बोलाई मिठो भोजन गर्नु भने अनुसार नै गर्ने गरिएको छ । चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ ।
मार्सी धानको इतिहास सूचनासँग पनि जोडिएको छ । तत्कालीन समयदेखि रोजगारीको सिलसिलामा भारत जाने जुम्लावासीहरु चैतको पहिलो सातासम्म जुम्ला पुगि सक्थे । चैत १२ गते धानको वीउ राख्नको लागि पनि सबै पुग्ने गर्दथे । चैत १२ गते नपुग्ने जुम्ली जिउँदो नरहेको भन्ने उखान अहिले पनि बुढापाकाहरुबाट सुनिन्छ । त्यसैले पनि मार्सीको वीउ राख्नेदेखि छर्ने दिनलाई महत्वको रुपमा लिईन्छ ।
पछिल्लो समय जुम्लामा किटनाशक औषधिको प्रयोग र पानीका मुहान सुक्दै जाँदा सिचार्इंको कमीले धान जोगाउन कठिन भएको छ । विभिन्न रोगको औषधिसँगै रातो भात स्वादिलो खिरको रुपमा प्रसिद्ध मानिन्छ । स्थानीय किसान जुनकली सेजुवालले मार्सी चामल पोषिलो र मिठो हुने भएकाले यसको खेती नघट्ने बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?