logo
२०८१ बैशाख ८ शनिवार



एकसातादेखि मुसहर बस्तीमा एकछाक मात्र खाना, बालबालिका भोकै

खुला |
समाज |


एकसातादेखि मुसहर बस्तीमा एकछाक मात्र खाना, बालबालिका भोकै
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ८ डुम्राहामा भोकभोकै बसेका सुकुम्बासी मुसहरहरु


जयकृष्ण यादव
इनरुवा, चैत १८ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ८ नम्बर वडा र ४ नम्बर वडाका मुसहर र दलित बस्तीका स्थानीयहरु लकडाउनमा एकछाक मात्रै खाना पकाएको र एकछाक भोकभोकै बसेका छन् । दैनिक ज्यालादारीमा काम गरेर हातमुख जोड्दै आएका करिव तीसय परिवार मुसहर र दलित बस्तीका स्थानीयहरु एकछाक मात्रै खाना खाएको एकछाक भोकभोकै बसेको गुनासो गरेका छन् ।
लकडाउनका कारणले आठदिनदेखि कँहिकतै काम गर्न जान नपाएकाले मुसहर र दलित बस्तीमा भोकभोकै बस्नेहरु बढेको स्थानीय शुक्र सदाले दुःखेसो पोख्नुभयो ।
अतिविपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन सर्वोच्च अदालतले चैत १७ गते सरकारका नाममा आदेश जारी गरेको भए पनि सुनसरीको इनरुवाका दलित र मुसहर बस्तीका नागरिकले कुनै राहत पाएका छैनन् ।
इनरुवा ८ डुम्राहाकी सम्झा सदाले तीन छोराछोरी र आफू तथा पतिसहित पाँच सस्य परिवारमा एक छाक खाएर एक छाक भोके बसेको गुनासो सुनाउनुभयो । त्यसैगरी, तारा ऋषिदेवले समेत आफूहरुलाई कम्तीमा लकडाउनको बेलामा हातमुख जोड्नका लागि चामल र दाल सम्म दिनुपर्ने, उपचार खर्चका लागि व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले घरमा पति काम गर्ने भए पनि लकडाउनका कारणले काम जान नपाएको कारणले खान समस्या भएको सुनाउनुभयो ।
सरस्वती ऋषिदेवले आफूहरु एकछाक खाएर बाँचे पनि बालबालिकाहरुलाई खुवाउन समस्या भएको बताउनुभयो ।

अर्का स्थानीय झमेली सदाले समेत राहत तत्काल नदिए दलित बस्तीका मुसहरहरुको अवस्था भयावह हुनसक्ने गुनासो गर्नुभयो ।
इनरुवा ४ गणेशपुरका शत्रुघन मेहताले लकडाउनका कारणले इनरुवा ४ र ८ का मुसहर, राम सहितका दलित बस्तीका स्थानीयहरु र केही मेहता तथा मण्डलहरु समेत सातायता एकछाक मात्रै खाएर बाँचिरहेको बताउनुभयो ।

मेहताले खान नपाएर भोकमरी हुने र कोरोना भन्दा ठूलो समस्या आउन सक्ने गुनासो गर्नुभयो ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले चैत १७ गते विश्वभर नै कोभिड–१९ को प्रकोप फैलिएर नेपालमा पनि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा त्यस्ता नागरिकहरूलाई राहत उपलब्ध गराउन आदेश जारी गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?