logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द

खुला |


कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द


परासी, चैत १३ गते । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।

मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो । गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिनुभयो । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उहाँले बताउनुभयो ।

“कोरोनाका बिरामी आउने डरले उहाँहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ, यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ”, अधिकृत केसीले भन्नुभयो ।

सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताउनुभयो । “कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु”, उहाँले भन्नुभयो ।

यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताउनुभयो । प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उहाँले पनि औषधि पसल सञ्चालन गर्नुभएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो ।

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भए÷नभएको अनुगमन गरेको थियो । ग्यासको अभाव नदेखिएको तर केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताउनुभयो ।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको थियो ।

लकडाउन उल्लङघन गर्ने ११ नियन्त्रणमा, छ क्वारेन्टाइनमा

पश्चिम नवलपरासीमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट, सुनवल, बासालगायत जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गरी सवारी चलाएको पाइएपछि मोटरसाइकलसहित उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सरकारले घोषणा गरेको लकडाउन सफल पार्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बुधबार दोस्रो दिन निषेधाज्ञा अवज्ञा गरी प्रहरीलाई अवरोध पु¥याउन खोजेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले राससलाई जानकारी दिनुभयो । उनीहरुलाई सम्झाएर छाडिने उहाँले जानकारी दिनुभयो । लकडाउनको पहिलो दिन मङ्गलबार पनि जिल्लाका विभिन्न स्थानबाट २२ मोटरसाइकल, एक ट्रक र दुई टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मङ्गलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको हो । दोस्रो दिन बुधबार पश्चिम नवलपरासी सुनसान बनेको छ ।

यसैबीच भारतबाट लुकिछिपी नेपाल आएका तीन जनालाई बुधबार नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको तोनवानाकाबाट पैदल आउँदै गरेको अवस्थामा पश्चिम नवलपरासीको सुनवल, पाल्पा र चितवनका गरी तीन जनालाई सुनवलस्थित जर्गाहा क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । उनीहरु भारतको मुम्बइमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

यसैगरी विभिन्न तेस्रो मुलुकबाट आएका अन्य तीन जनालाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ । तेस्रो मुलुकबाट आउने व्यक्तिको खोजी गर्दै उनीहरुको स्वास्थ्य अवस्थाअनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको आचार्यले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?