logo
२०८० चैत्र १६ शुक्रवार



सैनिक भन्दै ठगी गर्ने पक्राउ

खुला |


सैनिक भन्दै ठगी गर्ने पक्राउ


भद्रपुर, चैत ८ गते । सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ बस्ने ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१२ स्थित चारआलीको सुम्निमा पारुहाङ किराना पसल सञ्चालक डाकबहादुर राईलाई उनले रु एक लाख दुई हजार नगद ठगी गरेका थिए ।

राउतले आफू सैनिक भएको र मेसको कामको जिम्मेवारी रहेको बताउँदै मेसमा बचेको सामान सस्तो मूल्यमा दिने प्रलोभन देखाइ राईलाई ठगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । राउतले राईलाई पैसा लिई गाडी लिएर चारआलीस्थित सेनाको ब्यारेकको गेटमा पठाउन अनुरोध गरेका थिए । उनले सो रकम बाटैबाट लिई चालक ख्याम अधिकारीलाई सामान लिन सेनाको गेटमा बोलाएको प्रहरीको भनाइ छ । सामान लिन गाडी लिएर गएका अधिकारीले गेटमा पुग्दा निज व्यक्ति नभेटिएको र उनले दिएको सम्पर्क नम्बरमा समेत फोन गर्दा नउठेपछि तत्काल प्रहरी चौकी चारआलीमा निवेदन दिएका थिए ।

राईले दिएको निवेदन र हुलियाको आधारमा खोजतलास गरिरहेको प्रदेश नं १ नम्बर प्रदेश प्रहरी विराटनगर, जिल्ला प्रहरी कार्यालय झापासहितको टोलीले उनलाई शुक्रबार काँकरभिट्टाबाट पक्राउ गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । अनुसन्धानका क्रममा राउतले आफ्नो नामसमेत ढाँटी फरक–फरक सिमकार्ड प्रयोग गरी चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर र सुनसरीको धरान, इटहरी, गोरखा, काभ्रेलगायतका दर्जनौँ स्थानमा किराना पसललाई सैनिकको ब्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौँलाई ठगी गरेको पाइएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उनको साथबाट प्रहरीले रु ५४ हजार नगद, एक थान मोबाइल र सिमकार्ड बरामद गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?