रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने पहल

ram
काठमाडौं, साउन ११ गते । सरकारले जनकपुरको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रारम्भिक काम सुरु गरेको छ ।
कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहिलो शर्तका रुपमा स्थानीय समुदाय सहमत हुनु आवश्यक पर्दछ । पुरातत्व विभागले जनकपुरका स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि, सामाजिक कार्यकर्ता, मन्दिरका पुजारी लगायतसँग हालै अन्तरक्रिया गरेको छ ।
विभागका महानिर्देशक भेषनारायण दाहालले रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयहरु सहमत भएको जानकारी दिँदै भन्नुभयो, “यसबाट रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन बाटो खुला भएको छ ।”
विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अझै थुप्रै प्रक्रिया र कार्य बाँकी छन् । विभागले आगामी सन् २०१८ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति संघ (युनेस्को)को छलफलमा रामजानकी मन्दिरको प्रस्तावलाई पेश गर्ने योजना बनाएको छ ।
भारतको डिकम्बर राज्यका रानी वृषभानु निःसन्तान थिइन् र उनले आफ्ना सन्तान जन्मिएमा मन्दिर स्थापना गर्ने भाकल गरेकी थिइन् । उनले जुम्ल्याहा बच्चा जन्माएपछि जनकपुरको जङ्गलक्षेत्रमा नौ लाख रुपियाँ खर्चिएर रामजानकी मन्दिर निर्माण गर्न लगाएकी थिइन् । त्यसैले सो मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिएको पाइन्छ । सो मन्दिर १९ औँ शताब्दिमा निर्माण गरिएको हो ।
कुनै पनि मुलुकले हरेक १० वर्षमा आफ्ना सम्पदालाई सम्भावित विश्व सम्पदा सूचीमा समावेश गर्न सक्ने प्रावधान छ । सोही अनुरुप विभागले सन् १९९६ मा लुम्बिनी, रामग्राम, तिलौराकोट, मुक्तिनाथ उपत्यकाको गुफावास्तु शैली, खोकना, पनौती र गोर्खा दरबार क्षेत्रलाई सम्भावित विश्व सम्पदा सूचीमा समावेश गराएको थियो । त्यसमध्ये १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गराउने निर्णय गरेको थियो ।
त्यस्तै, सन् २००८ मा दैलेखको भूर्ति मन्दिर परिसर, लोमाङथाङ, कीर्तिपुर, नुवाकोट दरबार, रामजानकी मन्दिर, रिढीको ऋषिकेश मन्दिर परिसर, सिन्जा उपत्यका, तानसेन र बज्रयोगिनी मन्दिर तथा साँखुको बसोबास क्षेत्रलाई पनि सम्भावित विश्व सम्पदा सूचीमा समावेश गराएको थियो । चार वर्षअघि लोमाङथाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीय बासिन्दालाई सहमत गराउने प्रयास गरे पनि सफल हुन सकेन ।
विभागको विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेशसुरस श्रेष्ठले तराईँ क्षेत्रमा रहेको वास्तुकलामा रामजानकी मन्दिर सर्वश्रेष्ठ भएको चर्चा गर्दै भन्नुभयो, “युनेस्कोमा पेश गर्ने प्रस्ताव तयार गर्न औपचारिक काम सुरु गरेको कम्तीमा दुई वर्ष लाग्छ । त्यसैले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न त्यति हत्तारिनु हुँदैन ।”
नेपालका दुई वटा सांस्कृतिक र दुईवटा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज प्राकृति सम्पदामा परेका छन् । त्यस्तै, युनेस्कोको विश्व सम्पदा सूचीमा लुम्बिनी र काठमाडौँ उपत्यका विश्व सम्पदा स्थल परेका छन् । काठमाडौँ उपत्यकाभित्र पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ र चाँगुनारायण मन्दिर सो सूचीमा सूचीकृत छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना