अधिकांश अछामीको सुझावः ‘सुदूरपश्चिम अलग गर्न पाइदैन’

 मंगलसेन(अछाम), साउन ५ गते । “हाम्रो नौ जिल्लाको एकता भएको सुदूरपश्चिम कुनै नेताले टुक्र्याउन पाउने छैन, हामी पहाडी र तराइका मिलेका एक परिवारलाइ खण्डित पार्ने कसैको अधिकार हुनेछैन” बान्नातोली गाविसका भीम जनालाको भनाइ हो यो । “हामी अखण्ड सुदूरपश्चिमको पक्षमै छौ ।” सगै तालीको गड्गडाहट भयो । अगाडी पट्टी बसेका सभासद्द्धय भरत साँउद र जानकी साँउद (रावल) लाई सोमबार सदरमुकाम मंगलसेनमा सुझाव संकलनकाक्रममा औंला उठाउदै सचेत गर्दै थिए । 

भीम जनाला मात्रै होइनन् नेपालको संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने अधिकांस व्यक्तिहरुले सुदूरपश्चिमलाई अखण्ड राख्न सुझाव दिएका छन् । सुझाव दिने नागरिकहरुले तराइ र पहाडको नङ र मासुको जस्तै सम्बन्ध भएको उल्लेख गर्दै सुदुरपश्चिम टुक्र्याएमा सामाजिक, सांस्कृतिक, भाषिक रहनसहन पनि टुट्ने भएको भन्दै कैलाली र कञ्चनपुरलाई छुटाउन नहुन भनेर लिखित र मौखिक सुझावहरु आएका छन् । “तराइले हामीलाई खाद्यन्न दिन्छ हामी प्राकृतिक श्रोतको उपयोग तल कैलाली र कञ्चनपुरसम्म पुगेको छ ।” भन्दै “यसलाई विच्छेद पारेर राजनीति नगर्न हामी आग्रह गर्दछौ ।” अर्का सुझावकर्ता कृष्ण बहादुर बुढाको भनाई छ । सुझाव दिने अधिकांस स्थानीय राजनीतिक दल र व्यक्तिहरुले बढीमा पाँच प्रदेश सहितको संघियता हुनुपर्ने माग गरेका छन् ।

सुझाव दिने केही व्यक्तिहरुले कैलाली र कञ्चनपर पहाडबाट अलग हुनैपर्ने पनि राखेका छन् । उद्योग बाणिज्य संघ अछामका अध्यक्ष चन्द्र प्रसाद ढुंगानाले तराइले पहाडलाई विकास निर्माण लगायतले हेला गरेको भन्दै पहाडको विकासका लागी सूदुरपश्चिमका सात जिल्लाको एक प्रदेश हुन आवश्यक रहेको सल्लाह सभासद्लाई दिएका छन् । पत्रकार बेदप्रकाश तिमिल्सैना सुदूरपश्चिम एक प्रदेश भएमा पहाडी जिल्लाहरुको विकासले फड्को मार्न नसक्ने भन्दै तराईका दुई जिल्ला अलग राखिनुपर्ने सुझाव छ ।

संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने अधिकांस व्यक्तिहरुले कम्तीमा पाँच प्रतिसत थ्रेस होल्ड, नागरिकता दिनमा खुकुलो भएको भन्दै यसमा कडाइ गर्नुपर्ने, प्रस्तवना निकै लामो, दोअर्थे भएको, हिन्दुधर्म मुलकको माग, प्रधानमन्त्री र वडा अध्यक्ष प्रतक्ष्य निर्वाचित हुनुपर्ने माग सभासद् सामु राखेका छन् ।यस्तै पुर्ण प्रेस स्वतन्त्रता, महिला, दलित, वालवालिका हकमा थप, अंगिकृत नागरिकता प्राप्त व्यक्तिलाई राज्यका निकायमा प्रतिबन्ध, एकिकृत अदालत, संवैधानिक बेञ्च हुनुपर्ने लगायतका सुझावहरुको ओइरो लगाएका छन् । पुर्व सांसद अक्कल बहादर विष्ट समानुपातिक निर्वाचन प्रणालीले विकृती ल्याउने भएकाले यसलाई खारेज गर्न माग गर्नुभयो ।

सुझाव राख्ने केही व्यक्तिहरुले आफुहरुले बन्न लागेको संविधानको मस्यौदामा सुझाव राखेपनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । शिर्ष दलका शिर्ष नेताहरुले सहमती गरेर संविधानको मस्यौदा आएको भन्दै आफ्ना सुझावहरु समेटिनेमा शंका रहेको रहेको सभासद्लाई समेत बताएका थिए । शिक्षक संघ अछामका अध्यक्ष पदमराज अधिकारी सभासद्लाई अघिल्लो संविधानसभाका सुझाव के कति समेटिएका भनि प्रश्न गर्दै यी सुझाव समेटिने आधारका बारेमा जिज्ञाशा राख्नुभयो । अछाम जिल्लामा जनताका राय, सुझाव सल्लाह लिनका लागी क्षेत्र नं. १ का सभासद्, मस्यौदा समिति सदस्य तथा नेकपा (एमाले) उपाध्यक्ष भीम रावल, क्षेत्र नं. २ का सभासद् भरत साँउद र समानुपातिक सभासद् जानकी कुमारी साँउद (रावल) साउन १ गते अछाम पुग्नु भएको थियो । अछाम २ का सभासद् साँउदले नयाँ बन्ने संविधानलाई समृद्ध, अपनत्व र खँदिलो बनाउनका लागी नागरिकका उचित सुझावहरु संविधानमा समेटिने बताउनुभयो । अछाम क्षेत्र नं. १ को साँफेबगर र क्षेत्र नंं २ को सदरमुकाम मंगलसेनमा संविधानको मस्यौदाका बारेमा सुझाव संकलन गरिएको थियो । सुझाव संकलनमा सर्वसाधारण नागरिकको भने निकै न्युन सहभागिता रहेको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना