परीक्षास्थलमै उतीर्ण र अनुतीर्णको नतिजा


सन्तोष सुवेदी,
सिरहा, पुस ६ गते । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा प्रहरी निकायका उच्च अधिकृतहरुको प्रत्यक्ष निगरानी हुन थालेपछि परिक्षार्थीहरुले परिक्षास्थलमै उतीर्ण वा अनुतीर्णको परिणाम प्राप्त गर्न थालेका छन् ।
लहानस्थित सगरमाथा यातायात व्यवस्था कार्यालयले पछिल्लो पटक आइतबार लिएको प्रयोगात्मक परिक्षामा अञ्चल प्रहरी कार्यालय सगरमाथाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक रमेश भट्टराई तथा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नरबहादुर केसी उपस्थित भएपछि सो परिक्षामा उतीर्ण हुनेहरुलाई परिक्षास्थलमै उतीर्णको प्रमाण दिने व्यवस्था गरिएको हो ।
सवारी चालक अनुमति पत्रको नयाँ परिक्षा प्रणाली लागु भएपछि यातायात व्यवस्था कार्यालय लहानले यस अवधिमा दोश्रो पटक परिक्षा लिदैछ । यसभन्दा अघि भदौ महिनामा लिइएको मोटरसाइकल तथा स्कुटीको परिक्षामा ८४२ जनाले आवेदन दिए पनि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका तत्कालिन प्रमुख प्रहरी उपरिक्षक पुजा सिंहको उपस्थितीमा भएको प्रयोगात्मक परिक्षामा ५६ जना मात्र उतीर्ण हुनसकेका थिए ।
यस पटकको परिक्षाको लागि उक्त कार्यालयले मङ्सिर ३, ४ र ५ गते आह्वान गरेको सूचनामा तीन हजार छ सय सात जनाले आवेदन दिएका थिए । सो प्रयोजनको लागि लिइएको लिखीत परिक्षामा एक हजार ३४७ जनाले पास गरेका थिए । लिखीत परिक्षामा उतीर्ण गरेकाहरुको प्रयोगात्मक परिक्षा आइतबारदेखि मङ्गलबारसम्म चल्ने यातायात व्यवस्था कार्यालय लहानका प्रमुख सीताराम खनालले जानकारी दिनुभयो ।
‘हामीले उतीर्ण भएका परिक्षार्थीहरुलाई पारदर्शी रुपमा सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन परिक्षास्थलबाटै उतीर्ण भएको प्रमाण दिने व्यवस्था गरेका हौं’, सगरमाथा अञ्चलका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक रमेश भट्टराईले भन्नुभयो–यसो गर्दा परिक्षाका लागि सबै ट्राफिक नियम सवारी चालकले सिक्नैपर्ने बाध्यता उत्पन्न भएको छ ।
विगतका दिनमा ट्राफिक नियमबारे विस्तृत जानकारी नभएता पनि सहज रुपमा सवारी चालक अनुमति पत्र प्राप्त गर्न सक्ने अवस्थाका कारण व्यापक रुपमा सवारी दुर्घटना भएको उल्लेख गर्दै उहाँले परिक्षाकै बेला सवारी नियम नजान्नेहरुलाई अनुमति पत्र दिलाउनबाट रोक्नको लागि परिक्षास्थलमा प्रहरी निकायका उच्च अधिकृतहरुले प्रत्यक्ष निगरानी गर्न थालेको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना