मस्यौदामा खुलस्त रूपमा सुझाव राख्न आग्रह

पशुपतिनगर, साउन ३ गते । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले संविधानसभाबाट संविधान जारी गर्ने नेपालीको वर्षौँदेखिको चाहना अब चाँडै साकार हुने बताउँदै संविधानको मस्यौदामा आफ्ना सुझाव खुलस्त राख्न आग्रह गर्नुभएको छ ।

आफ्नो लागि आफै संविधान बनाउने अवसर इतिहासले नेपाली नागरिकलाई दिएको बताउँदै डा. रिजालले भन्नुभयो, “यस्तो ऐतिहासिक अवसर इतिहासमा कमै मात्र पाएन्छ, यसको भरपुर सदुपयोग गर्नुहोस् ।”

ताप्लेजुङ्ग जाने क्रममा नेपाली काँग्रेस इलामका कार्यकर्तासँग भेट गर्दै मन्त्री रिजालले नेपाली काँग्रेसले ठूलो चूनौति र अप्ठ्याराबीच संविधान जारी गर्ने अवस्थाका लागि वातावरण निर्माण गरेको बताउँदै काँग्रेस कार्यकर्तालाई भन्नुभयो, “तपाईँहरूले पनि जतिसक्दो बढी र देश हितका लागि सुझाव दिनुहोस् ।”

अब बन्ने संविधानले सबै जातजाति, क्षेत्र, सम्प्रदाय र धर्म संस्कृतिको अधिकार सुनिश्चित गर्ने बताउँदै मन्त्री रिजालले भन्नुभयो, “मस्यौदाबारे आफूलाई लागेको कुरा राख्नुहोस्, यसले लोकतान्त्रिक संविधान ल्याउन सहयोग पु¥याउँछ ।”

उहाँले सभासदको टोली सुझाव सङ्कलनका लागि जिल्ला जिल्ला पुगिसकेको जानकारी दिँदै डा. रिजालले मस्यौदालाई राम्ररी अध्ययन गरी सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस इलामको पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रमका अवसरमा अपाङ्ग एकता समाजका इलामका अध्यक्ष प्रकाश थापाले नयाँ बन्ने संविधानमा अपाङ्गका अधिकार सुनिश्चित गर्न मन्त्री रिजालसँग आग्रह गर्नुभएको छ ।

सोही विषयमा डा. रिजालले अपाङ्गका अधिकारका विषयमा आफूले यसभन्दा पहिला पनि धेरै विषय उठाइसकेकाले संविधानमा अपाङ्गता भएकाको अधिकार सुनिश्चित हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सभासद केशव थापा, सुजाता परियारलगायत जिल्ला कार्य समिति र अन्य कार्यकर्ताको उपस्थिति थियो ।

यसैबीच इलामको ४३ गाविस र तीन नगरपालिकाबाट आइतबारसम्ममा लिखित तथा मौखिक गरी तीन सयभन्दा बढी सुझाव सङ्कलन गरिएको छ ।

गाविस सचिव र नगरपालिकाका कार्यकारी अधिकृतले जनताबाट सुझाव सङ्कलन गरिरहेको बताएका छन् ।

संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव उप–समितिको कार्यालय इलामले जनाए अनुसार जनताले दिएका सुझावलाई लिपिबद्ध गर्ने काम भइरहेको छ ।

उप–समितिको कार्यालयले गाउँ–गाउँबाट सुझाव दिन गाविस सचिव र नगरपालिकाका कार्यकारी अधिकृतलाई २५÷२५ थान मस्यौदा, संविधानको सङ्क्षिप्त विशेषता लगायतका सामग्री उपलब्ध गराएको छ ।

संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव उप–समितिका सचिव अधिराज राईले प्रत्येक गाविस र नपाबाट आएका लिखित, मौखिक र इलेक्ट्रोनिक सुझावलाई व्यवस्थित गर्न प्रत्येक निर्वाचन क्षेत्रमा तीन÷तीन जना कर्मचारी खटाइएको जनाउनुभयो ।

सुझाव सङ्कलनका लागि इलाम क्षेत्र नं. १ मा झलनाथ खनाल, लीलादेवि श्रेष्ठ, सूर्यबाला राई, क्षेत्र नं. २ मा सुवास नेम्बाङ, मनकुमार गौतम र नरेन्द्र कुमाल र क्षेत्र नं. ३ मा कुलबहादुर गुरुङ, केशव थापा र सुजाता परियार सहभागी हुने जनाएको छ ।

केशव थापा, सुजाता परियार, सूर्यवाला राई इलाम आइसक्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना