“ बजेटबाट एमालेको अपमान ”


काठमाडौं, असार ३० गते । मंगलबार व्यवस्थापिका–संसदमा प्रस्तुत आर्थिक वर्ष २०७२÷०७३ को बजेटमाथि सत्ताको एक प्रमुख घटक नेकपा (एमाले) का नेताहरुले गम्भीर आपत्ति जनाउँदै संशोधनको माग गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकमा नेताहरुले आपत्ति जनाउँदै ‘बजेटमा काङ्ग्रेसको बेइमानी’ को संज्ञा दिएका छन् । एकलौटी सरकारको नेतृत्व गरेको जस्तो कांग्रेसको व्यवहार र कार्यशैलीप्रति एमाले नेताहरुले ‘पर्ख र हेर’ को रणनीतिमा रहेको बताएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बजेटमा सत्ता साझेदारीको कुनै प्रत्याभूति नभएको आरोप लगाउनुभयो । “यो सरकार काङ्ग्रेसले एकलौटी चलाएको हो र !” भन्दै उहाँले बजेट संकीर्ण सोचका साथ आएको टिप्पणी गर्नुभयो । “यो बजेट संकीर्णताले निचारिएर कच्याक कुचुक पारिएको छ, कांग्रेसले सच्याउने प्रयास नगरे हामी सोच्न बाध्य हुन्छौं” अध्यक्ष ओलीलाई उद्धुत गर्दै सभासद यज्ञराज सुनुवारले गोरखापत्रलाई जानकारी दिनुभयो ।
बजेट पारित हुँदासम्म पर्ख र हेरको रणनीति लिएर जाउँ, सच्चिने अवस्था नबने त्यसपछि हेरौंला अध्यक्ष ओलीको टिप्पणी थियो । उहाँले काङ्ग्रेस नेतालाई मात्र जोडेर कार्यक्रम आएको प्रत्ति आपत्ति जनाउँदै भन्नुभयो, “गरिबसँग विश्वेश्वर, कृष्णसँग संचार, गणेशमानसँग महिला, गिरिजासँग राजनीति, को कोसँग दाँज्ने मन छ दाँज्नुस्” टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेका नेताहरुलाई वेवास्ता गर्ने काम गरेको आरोप लगाउनुभयो ।
नेता माधवकुमार नेपालले बजेटमा काङ्ग्रेसी नेताहरुले खेलवाड गरेको आरोप लगाउनुभयो । “जसलाई जे–जे मन लाग्यो त्यही गरेको छ, एकलौटी पाराले बजेट ल्याएर एमालेको अपमान भएको छ” चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिकको भत्ताको सुरुवात गर्नेकाम तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गर्नुभएकाले उहाँको नाम लिनमा पनि काङ्ग्रेसले कन्जुस्याई गरेको आरोप लगाउनुभयो । लोकमार्गबाट पुष्पलालको नाम समेट हटाएको उहाँले आरोप लगाउनुभयो ।
उपाध्यक्ष विद्या भण्डारीले मदन भण्डारीलाई हरि खड्कासँग तुलना गरेर मदनको अपमान गरेको आरोप लगाउनुभयो । एमाले नेताहरुको भएको नाम पनि नामेट गरी काङ्ग्रेसका नेताहरुको नामसँग मात्रै जोडेर कार्यक्रम ल्याएर बजेटलाई कांग्रेसमय बनाउने प्रयास भएको उहाँले टिप्पणी गर्नुभयो ।
उपाध्यक्ष बामदेव गौतमले आफूहरु सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गरे पनि सरकारमा कामकाज गर्न निकै समस्या भइरहेको बताउनुभयो । बजेटबारे के गर्ने विषयमा पार्टीका नेताहरुले सोच विचार गरेर निर्णय लिन उहाँले आग्रह गर्नुभएको बैठकमा सहभागी सभासद अफिलाल ओखेडाले जानकारी दिनुभयो । “हामीले चाहेर पनि धेरै कार्यक्रम पार्न सकेनौं”, काङ्ग्रेसले एमालेका मन्त्रीहरुको कुरा नसुनेको मन्त्री गौतमको भनाई थियो ।
बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रमुख सचेतक अग्नी खरेल, राष्ट्रिय योजना आयोगका सदस्य प्रेम दंगाल, सभासद प्रेम आलेमगर लगायतले बजेटमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो । संसदमा मंगलबार बजेट प्रस्तुत भएपछि बजेटमा गरिएको व्यवस्थामाथि असन्तुष्टी जनाउँदै एमालेले बजेटमै केन्द्रीत छलफल गर्न बुधबार विहान संसदीयदलको बैठक आव्हान गरेको थियो । सिंहदरवारमा बस्ने भनिएको बैठक विहान ११ बजेदखि बजेटमाथिको छलफल गर्नेगरी संसदको बैठक बस्ने भएपछि संविधानसभा भवनकै एक हलमा एमालेको बैठक बसेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना