चार गाविसमा रेडपान्डा संरक्षण सुरु

बुद्धवीर राई

इलाम, असार २२ गते । इलामका चार गाविसमा रेडपाण्डा (हाब्रे) संरक्षणका थप काम सुरु हुने भएको छ । रेडपाण्डा संरक्षणका लागि काम गर्दै अईरहेको संस्था रेडपाण्डा नेटवर्कले जोगमाई, जमुना, प्याङ् र मावु गाविसमा विशेष संरक्षण अभियान सुरु गर्न लागेको हो ।
चार गाविसमा ५१ लाख ५० हजार रुपियाँको लागतमा रेडपाण्डा संरक्षणको नयाँ काम सुरु गरिएको संस्थाका संरक्षण अधिकृत सोनाम टासी लामाले जानकारी दिनुभयो । चार गाविसको ७७० हेक्टर वनक्षेत्रमा रेडपाण्डाको संरक्षण कार्य, संरक्षण कार्यमा स्थानीयलाई अग्रसर गराउन जिविकोपर्जनमा सहयोग, संरक्षणका लागि जनचेतना अभिबृद्धिलगायतका कार्यक्रम सञ्चालन हुने लामाले बताउनुभयो ।Red Panda
चार गाविसमा रेडपाण्डाको बासस्थान सुधार, खुल्ला चरिचरण नियन्त्रण, सामुदायिक वनको कार्ययोजनामा समावेश गर्न, संरक्षणक्षेत्रको स्थापनालगायतका काम गरिने जनाईएको छ । कार्यक्रमको सुरुको चरणमा सोमबार सामुदायिक वनका पदाधिकारीलाई कार्यक्रम सञ्चानका बारेमा जानकारी गराईएको संस्थाका फिल्ड कोडिनेटर फिन्जु शेर्पाले बताउनुभयो ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानीय समुदायसम्म पुग्ने कार्यक्रम राखिएको उहाँले जानकारी दनुभयो । स्थानीयको जीविकोपार्जनमा सहयोग पु¥याउनका लागि जैविक खेतीबारे तालिम, पोली हाउस निर्माण, घरबास कार्यक्रमका लागि तालिम र हस्तकलाका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरिनेछ ।
जिल्लाका ७ गाविसका सामुदायिक तथा सरकारी वनमा दुई दर्जनको हाराहारीमा दुर्लभ पाण्डा रहेको अनुमान गरिएको छ । रेडपाण्डा संरक्षण गर्न नेटवर्कको सहयोगमा प्रत्येक गाविसमा एकदेखि तीन जनासम्म गरेर १४ जना वन अभिभावक राखिएको छ । यतिवेला पाण्डाको प्रजनन समयसमेत भएकाले केहि सामुदायिक वनले आवतजावतसमेत रोक लगाएको छ । हेर्दा अति लजालु स्वभाव भएको पाण्डा विश्वका पाँच मुलुक नेपाल, भारत, चीन, भुटान र वर्मामा मात्रै पाइन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना