गोरखापत्रकर्मी बेल्बासे पुरस्कृत

ललितपुर, असार २१ गते । गोरखापत्रकर्मी भेषराज बेल्बासेलाई ‘युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन २०७२’ बाट पुरस्कृत गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले यहाँ आयोजना गरेको एक समारोहकाबीच उहाँलाई युवा तथा खेलकुद मन्त्री पुरूषेत्तम पौडेलले सम्मान गर्नुभएको हो ।


नेपाली युवामा सिर्जनशीलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहित गर्न युवा पत्रकारका रूपमा क्रियाशील रही छापा सञ्चारमाध्यममार्फत युवा उपयोगी सूचना प्रवाह गरेको भन्दै बेल्बासेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।


समारोहमा कृषि, व्यवसाय, पत्रकारिता, मूर्तिकला, सामाजिक सेवा, साहसिक कार्य, कलाकार, उद्यमी, स्वयंसेवा, समाजसेवालगायतका विभिन्न क्षेत्रमा क्रियाशील युवालाई जनही ५० हजार रूपियाँ र सम्मानपत्रले पुरस्कृत गरिएको हो ।


मन्त्रालयले युवा प्रतिभा तथा युवा उद्यमीको खोजी र प्रोत्साहन कार्यक्रम अन्तर्गत ३७ युवालाई पुरस्कृत गरेको हो मन्त्रालयले तीमध्ये १४ युवालाई पत्रपत्रिकामा छापिएका समाचारका आधारमा र बाँकी २२ युवालाई निवेदन तथा नेपाल उद्योग वाणिज्य महासंघ एवं नेपाल स्काउटको सिफारिसका आधारमा प्रोत्साहन स्वरूप पुरस्कृत गरेको मन्त्रालयले जनाएको छ ।


सम्मानित हुनेहरूमा अल्ट्रालाइट निर्माण गर्ने रदि मियाँ, पारामोटर हेलिकोप्टर निर्माता सञ्जयकुमार यादव, व्यवसायी सुरेशराम, कृषक चन्द्रलाल तामाङ, विजुली उत्पादन गर्ने कृष्ण आचार्य, टेलिभिजन कार्यक्रम सञ्चालक कमला श्रेष्ठ, साहसिक कार्य गर्ने कालिका घर्तिलगायतलाई मन्त्री पौडेलले सम्मान गर्नुभएको थियो ।


पुरस्कार प्रदान गर्दै मन्त्री पौडेलले युवा शक्ति मुलुककै विकासका मेरूदण्ड भएकाले यिनीहरूको विकासले मात्र राष्ट्र अग्रगतिमा जान सक्ने बताउनुभयो ।


नेपाली युवा शक्तिलाई पलायन हुन नदिई देशभित्रै केही गर्नका लागि प्ररित गर्न सके मात्रै देशले उन्नती गर्ने उहाँले बताउनुभयो । युवालाई राष्ट्रकै लागि केही गर्नुपर्छ भन्ने भावना जगाउने काममा सरकार प्राथमिकताका साथ लागेको उहाँको भनाई थियो । मनत्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सरकारले युवाशक्तिलाई सदुपयोग गर्न सक्नुपर्ने भन्दै उन्नतिशील, आत्मनिर्भर र असल नागरिक बनाउन सरकारले युवा लक्षित कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना