बडागाउँ–मुडिकुवा झोलुङ्गेपुल निर्माण गर्न सम्झौता  

पर्वत, असार १७ गते । पर्वत सदरमुकाम कुश्माबजारदेखि छिमेकी मुडिकुवा गाविस जोड्ने झोलुङ्गेपुल निर्माण गर्न सम्झौता भएको छ । मुक्तिनाथ एन्ड गीता कन्स्ट्रक्सन पोखरा र पुल निर्माण समितिबीच साउन महिनादेखि निर्माण सुरु गर्ने गरी सम्झौता भएको हो ।

बडागाउँदेखि मुडिकुवाको सिर्सुवा जोड्ने गरी निर्माण हुन लागेको उक्त झोलुङ्गेपुलको साउन महिनामा शिलान्यास गर्ने र असोजदेखि निर्माणलाई तीव्रताका साथ अघि बढाउने गरी सम्झौता गरिएको छ । रु एक करोड ७५ लाखको लागतमा निर्माण हुने उक्त पुल ३५९ मिटर लम्बाइ र ११२ मिटर उचाइ रहने छ । उक्त झोलुङ्गेपुल सिङ्गल स्पाममध्येको नेपालकै एकमात्र पुल हुनेछ । झोलुङ्गेपुल निर्माणपछि एक घन्टाको बाटो १० मिनेटमा नै छोटिने छ ।

मुडिकुवालगायत पर्वत निर्वाचन क्षेत्र नं २ अन्तर्गतका २२ गाविस र बागलुङ जिल्लाका कुश्मीसेरा, छिस्तीलगायतका १२ गाविस प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

पर्वतमा यसअघि कुश्मा ज्ञादी झोलुङ्गेपुल र नेपालकै लामो कुश्मा कैया झोलुङ्गेपुल निर्माण भइसकेका छन् । त्यस्तै देवीस्थान गाविसदेखि कुर्घा गाविस जोड्ने गरी अर्को अग्लोपुलसमेत निर्माण भइसकेको छ ।

उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा छिटो छरितोभन्दा पनि बलियो र भरपर्दोरुपमा पुल निर्माण सम्पन्न गराउने उपभोक्ता समितिका सदस्य जगत सापकोटाले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना