वर्षाका कारण एक हप्तादेखि पहाडी सडक मार्ग अवरुद्ध

उदयपुर, असार १६ गते । निरन्तर वर्षाका कारण एक हप्तादेखि उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङ दिक्तेल जोड्ने मार्गलगायत पहाडी क्षेत्रको सडकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । वर्षाको कारण कच्ची सडक अवरुद्ध भएपछि गाईघाटदेखि पहाडी क्षेत्रको साउने खाँबु, रौता सल्ले, चिसापानी तथा फोक्सिङटार, भुटारलगायतका सडकखण्डमा यातायात सञ्चालन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् ।

सडक अवरुद्ध भई यातायात साधन सञ्चालन हुन नसकेपछि ती सडकखण्डमा आवतजावत गर्ने यात्रु पैदल यात्रा गर्न बाध्य हुन परेको यात्रु बताउँछन् ।

सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा प्रत्येक वर्ष वर्षायाममा यात्रुले सास्ती भोग्दै आउन परेको छ भने यातायात व्यवसायीको समेत रोजीरोटी समस्यामा पर्ने गरेको यातायात व्यवसायीको गुनासो रहेको छ ।

वर्षाका कारण सडक अवरुद्ध हुँदा डेढ दर्जनभन्दा बढी सवारीका साधन बन्द हुने गरेका छन् भने खोटाङको तल्लो क्षेत्र र उदयपुरको पहाडी क्षेत्रको झन्डै चार लाख जनताले यातायात बन्द हुँदा समस्या भोग्दै आएका छन् ।

बीस वर्षअघि नै सदरमुकाम गाईघाटदेखि खोटाङको दिक्तेलसम्म जोड्न सडकमार्ग निर्माण भए पनि अहिलेसम्म उक्त, सडकखण्ड कालोपत्रे तथा ग्राभेलिङ हुन नसकेको यातायात व्यवसायी बताउँछन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना