सविधानसभामा मस्यौदा प्रस्तुत

BICC24काठमाडौ असार १५ गते । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आज राति बसेको बैठक संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२ पेस गर्नुभयो ।

संविधानसभाको आजको बैठकमा उहाँले केही दलको फरक मतसहितको मस्यौदा पेस गर्नुभएको हो । दलबीच मस्यौदामा सहमति जुट्न नसक्दा आज अपराह्न ३ बजेका लागि निर्धारित बैठक राति ८ बजे सुरु भएको थियोे ।

थापाबाट जनमतसङ्ग्रह माग
बैठक सुरु हुनासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५७ र संविधानसभा नियमावली १५२ अनुसार सिटौलाले संविधानको मस्यौदा प्रस्तुत हुनु अगावै संवैधानिक राजतन्त्र, हिन्दू राज्य र सङ्घीयताका विषयमा जनमत गर्नुपर्छ भन्ने प्रस्ताव आफूले दर्ता गराएको स्मरण गर्नुभयो । आफ्नो दलले २०७१ साल असोज २ गते सो विषयमा औपचारिक प्रस्ताव दर्ता गराएको जानकारी उहाँले गराउनुभयो ।

संविधानसभामा कायम रहेको दुई तिहाइ सदस्यले जनमतसङ्ग्रहमा जानुपर्छ भन्ने प्रस्ताव ल्याएमा मात्र त्यसमा जान सकिने सभाध्यक्ष नेम्वाङले सभालाई जानकारी गराउनुभएको थियो । उहाँले ती विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गरिने प्रतिबद्धता जनाउनुभयो ।

बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले सर्वोच्च अदालतको आदेश विपरीत गएर प्रस्ताव पेस गरिएको भन्दै मधेसी, जनजाति, दलित तथा पिछडिएका वर्गलाई अधिकार नदिने संविधान आफूहरुलाई मान्य नहुने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)का रुक्मिणी चौधरीले विगतमा गरिएको सहमति विपरीत मस्यौदा आएको भन्दै आपत्ति प्रकट गर्नुभयो । नेपाली काँग्रेसका प्रदीप गिरी भने बैठकमा नियमापत्ति जनाउँदै बाहिरिनुभएको थियो ।

लामो समयको प्रतीक्षापछि नेपालको संविधानको प्रारम्भिक मस्यौदा तयार भएको बताउँदै समितिका सभापति सिटौलाले नेपाली जनताले नेपाली जनताका लागि सुम्पेको अभिारास्वरुप आफूहरुले निकै लामो समसम्मको मेहनतबाट संविधानको मस्यौदा ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पित गरेका बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी आदि नेताको स्मरण गर्दै जनचाहनाबमोजिमको संविधान बनाउन सभासद्हरू लागिपरेको बताउनुभयो ।

अग्रजहरूले देखाएको बाटामा अविचलित भएर संविधान निर्माणमा लाग्नुपर्ने बताउँदै उहाँले संविधानको पहिलो मस्यौदामा धेरै छलफल गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । तराई, हिमाल र पहाडलाई समट्दै सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने गरी मस्यौदा बनाइएको, फरक मत र दर्शन भएका राजनीतिक दल सहमतिमा आएको तथा अहोरात्र खटेर तयार गरिएको मस्यौदाको समग्रमा छलफल गरेर अघि बढ्न सकिने उहाँले बताउनुभयो ।

सात दशक लामो सङ्घर्षपछि जनताले संविधानको मस्यौदा प्राप्त गरेको बताउँदै उहाँले प्रस्तुत मस्यौदामा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेता सिटौलाले प्रमुख दलका शीर्ष नेताको सुझाव तथा संविधानसभाका निर्देशनलाई शिरोधार्य गर्दै समितिले मस्यौदा निर्माणमा आफूलाई केन्द्रित गरेको बताउनुभयो ।

मस्यौदामाथि जनताको रायसुझाव लिन बाँकी रहेको र त्यो क्रमशः संशोधन हुँदै जाने बताउँदै उहाँले राष्ट्रप्रतिको गहन दायित्व निर्वाह गर्न सभासद्हरू चुक्न नहुनेमा जोड दिनुभयो ।

संविधानसभाको अर्को बैठक यही असार १७ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना