सिरहामा असार १५ मा पनि धान रोपाइँ सुरु भएन, किसान चिन्तित

लहान, असार १५ गते । आज मुलुकभर धान रोपाइँ गरी मनाइरहँदा सिरहामा भने वर्षाको अभावमा अझै धान रोपाइँ सुरु हुन सकेको छैन । सिँचाइको अभावमा आकाशे पानीकै भरमा खेती गर्दै आएका सिरहाका किसान समयमा वर्षा नभएपछि डढेलो लागेको धानको बेर्ना हेरेर दिन बिताइरहेका छन् ।

वर्षाको अभावमा गत वर्ष खडेरीको मार खेपेका यहाँका किसान यस वर्ष पनि पर्याप्त वर्षा नभएपछि चिन्तित बनेका छन् । असार १५ मा रोपाइँ सकिनुपर्नेमा अहिलेसम्म सिरहामा करिब दुई प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय सिरहाका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिरहामा कुल ६० हजार हेक्टर क्षेत्रफलमध्ये अझै अधिकांश खेतीयोग्य जग्गा बाँझो छ । धान रोपाइँका लागि महत्वपूर्ण समय मानिएको असार दोस्रो सातासम्म पनि पर्याप्त वर्षा नभएकाले यस वर्ष पनि खडेरीको चपेटामा परिन्छ कि भने चिन्ता किसानमा छाएको छ ।

असारको दोस्रो सातातिर थोरै वर्षा भएयता वर्षा हुने क्रम ठप्पै रोकिएपछि अधिकांश खेतीयोग्य जग्गामा धानबाली रोपाइँ गर्न नपाएको किसानले दुःखेसो पोखेका छन् । वर्षा रोकिएपछि थोरै किसानले पानी तान्ने मोटर जडान गरेर धान रोपाइँ गरिरहेका छन् भने कतिपय किसान अझै वर्षाको प्रतीक्षामा बसिरहेका छन् ।

“सुरुमा धानको बेर्ना तयार थिएन, अहिले बेर्ना तयार भएपछि रोपाइँ गर्न पानी छैन,” सिरहाको बर्छवाका किसान कपिल यादवले भन्नुभयो – “धान रोपाइँमा भइरहेको ढिलाइले किसानमा चिन्ता थपिँदै गएको छ ।”

“न त वर्षा भएको छ न त सिँचाइकै कुनै प्रबन्ध छ,” योजना अधिकृत यादवले भन्नुभयो – “धान रोपाइँको दृष्टिकोणले महत्वपूर्ण मानिएको अहिलेको समयमा वर्षा नभएकाले किसान बढी चिन्तित बनेका छन् ।”

वर्षा नभएर धान रोप्नसमेत ढिलाइ हुने भएकाले यस वर्ष पनि सिरहामा धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना