लोपोन्मुख धानका प्रजाती जोगाउन बीउ बैंक

कञ्चनपुर, असार १५ गते । कञ्चनपुरको शङ्करपुरमा रहेको सामुदायिक बीउ विकास बैंक स्थानीय जातका लोपोन्मुख अवस्थामा पुगेका धानका प्रजाती जोगाउने कार्यमा सक्रिय भएको छ । बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका १९ प्रजातीका धानका बीउ संरक्षण गरेको छ । दुलहनीया, मन्सरा, सिमटारी, निमै, घिउपुरी, मुटमुर, अञ्जना, बगटी, कालासाटा, तिलकी, चैना, अन्ती, राइमुनुवालगायत १९ स्थानीय प्रजातीका धानको बीउ संरक्षण गरेर राखिएको सामुदायिक बीउ बैंकका अध्यक्ष श्रीकृष्ण रानाले बताउनुभयो ।

“बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरणा दिँदै आएका छौँं” उहाँले भन्नुभयो । बढी फल्ने उन्नत्जातका धानका प्रजातीको खेती गर्न कृषकहरु बढी रुचाउन थालेपछि स्थानीय जातका धानका प्रजाति लोपहुने सङ्घारमा पुगेका हुन् । बीउ संरक्षणको कार्य हुँदै आएकाले लोपहँुदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको अध्यक्ष रानाको भनाइ छ ।

बीउ बंैकले प्रतिवर्ष बीस क्विन्टल बढी स्थानीय धानको बीउ उत्पादन गरी कृषकलाई सुपथ मूल्यमा बिक्री गर्दै आएको छ । बजारको दर रेट भन्दा रु १० देखि रु १५ रुपैयाँ सस्तोमा बीउ कृषकहरुलाई दिने गरेको छ । बीउको ग्रेडिङपछि मात्रै कृषकलाई बिक्री गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

शङ्करपुर, देखतभूली, बेलौरी नगरपालीका, रामपुर विलासिपुर र कृष्णपुर क्षेत्रका एक हजारभन्दा बढी कृषकले सो बैंकबाट बीउ खरिद गरेर खेतमा लगाउने गरेका छन् । बैँकले गौतम, आदित्य र भृकुटी जातका गहुँको बीउ समेत उपलव्ध गराउँदै आएको छ । विसं २०६४ मा बीउ बैंकको स्थापना गरिएको थियो । भण्डारण गृहमा ५० क्विन्टलसम्म बीउ भण्डारण गर्न सकिन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना