एघार वर्षमा निस्कने फोहोर भूकम्पपछिका दुई दिनमै उत्सर्जित

राधा चालिसे काठमाडौँ, असार ७ गते । काठमाडौँ उपत्यकामा ११ वर्षमा निस्कने फोहोर गत वैशाखमा भएको भूकम्पले दुई दिनमा नै थुपारिदिएको छ । वैशाख १२ र २९ गते गएको भूकम्पका कारण काठमाडौँ उपत्याकामा मात्र करिब ४० लाख टन फोहोर निस्केको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले गरेको अध्ययनले देखाएको छ । “यो करिब ११ वर्षमा जम्मा हुने फोहोरको परिमाण हो,” केन्द्रकी निर्देशक डा. सुमित्रा अमात्य भन्नुहुन्छ । त्यस्तै भूकम्पले बढी क्षति पु¥याएको उपत्यका बाहिरका अन्य ११ जिल्लाबाट समेत गरेर ९६ लाख टन फोहोरमैला निस्केको पनि केन्द्रको अध्ययनले देखाएको छ । त्यस्तै, भूकम्पका कारण एक अर्ब १२ करोड इँटा नष्ट भएका छन् । आगामी पुनर्निर्माणका लागि त्यति नै इँटा उत्पादन गर्दा करिब १५ लाख सात सय टन कोइलाको खपत हुने र त्यसबाट १५ हजार टनभन्दा बढी कार्बन डाइ अक्साइड निस्कने अमात्यको भनाइ छ । त्यस्तै पुनः इँटा निर्माण गर्दा करिब १७ लाख क्युविक मिटर माटो नोक्सान हुने र त्यसको प्रत्यक्ष प्रभाव अन्न उत्पादन हुने जमिनमा पर्ने पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, क्षतिग्रस्त घरमा प्रयोग भएको रङ अध्ययन गर्दा भूकम्पले क्षति पु¥याएका ३१ जिल्लामा करिब २० लाख लिटर रङ प्रयोग भएको केन्द्रको अनुमान छ । “त्यति मात्राका रङबाट करिब १८०.७० किलो लिड उत्पन्न हुन्छ”, उहाँ भन्नुहुन्छ । भग्नावशेषजन्य फोहोरमैलामा ढुङ्गा, इँटा, माटो, सिमेण्ट, जस्ता मात्र नभई फुटेका चिमबाट निस्कने मर्करीलगायत अन्य ग्यास तथा ब्याट्रीलगायतका संवेदनशील फोहोर पनि भएकाले त्यसको व्यवस्थापन उचित तरिकाले गर्नुपर्नेमा विज्ञहरू जोड दिन्छन् । त्यस्ता फोहोरलाई सही रूपमा व्यवस्थापन नगरिएमा त्यसले जमिनमुनिको पानीलाई दूषित गर्नसक्ने खतरा अमात्य औँल्याउनुहुन्छ । “त्यसैले भूकम्पका भग्नावशेष हटाउने कार्यमा खेलाँची गर्नु हँुदैन, निकै संवेदनशील हुनुपर्छ”, अमात्य भन्नुहुन्छ, “आवश्यक सावधानी र उचित सामग्रीबिना भग्नावशेष हटाउने भन्दै मानिसको भीड लाग्नु निकै जोखिमपूर्ण पनि हुनसक्छ ।” काठमाडौँ महानगरपालिकाले भग्नावशेष व्यवस्थापनका लागि विभिन्न २० स्थानलाई अस्थायी फोहोर सङ्कलन केन्द्र तोकेर सूचना प्रकाशित गरेको छ । तीमध्ये ठूला परिमाणका भग्नावशेषका सामग्रीले चोभारको खाली जग्गालाई पुरेर पार्क निर्माण गर्ने योजना बनाएको महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । त्यस्तै पेप्सीकोला पारी दिव्यश्वरी जग्गा एकीकरण आयोजना क्षेत्रलाई पनि ल्याण्डफिल क्षेत्र बनाउने महानगरपालिकाको योजना रहेको छ । स्थान तोकिए पनि महानगरपालिकासँग पर्याप्त ट्रक र लोडर नभएकाले भग्नावशेषजन्य फोहोरमैला हटाउने कार्यमा ढिलाइ भएको कार्कीको भनाइ छ । त्यस्तै साँघुरा गल्लीभित्रका पूर्ण वा आंशिक क्षति भएका घर भत्काएर पन्छाउन महानगरपालिकाको लागि ठूलो चुनौती बनेको उहाँ बताउनुहुन्छ । भग्नावशेषबाट निस्केका ढुङ्गा, इँटा, जस्ता, काठ जस्ता सामग्रीलाई पुनः प्रयोग गर्न सकिने भएकोले त्यसलाई छुट््याउनुपर्छ । त्यस्ता सामग्री करिब २० देखि ३० प्रतिशतसम्म निस्कने अनुमान छ । बाँकी सामग्रीलाई पुनःचक्रीय प्रणालीमा लगेर ब्लक वा कङ्क्रिट बनाएर विस्तार हुँदै गरेका सडक निर्माण, पार्क निर्माणमा प्रयोग गर्न सकिने योजना केन्द्रले अगाडि सारेको छ । त्यसका लागि आवश्यक उपकरण सहयोग गर्न आगामी १० गते हुने दाता सम्मेलनमा प्रस्ताव गर्न सकिने डा. अमात्यको सुझाव छ । त्यस्तै त्यस्ता मेशिन आयात गर्न विशेष सहुलियत दिएर निजी क्षेत्रलाई समेत उक्त कार्यका लागि सरकारले प्रोत्साहन गर्नुपर्ने उहाँको धारणा छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना