भूकम्प डाक्टर: सिटामोलदेखि शल्यचिकित्सासम्म

काठमाडौँ, असार ६ गते । घरसहित तीन क्लिनिकमा आफ्नो नियमित बिरामी जाँच्ने काम छाडी बिरामी शुल्क माया मारे महिनौँ दिनसम्म भूकम्पबाट शारीरिक चोट र त्रासबाट मानसिक रोग खपिरहेका पीडितको उपचारमा हिँड्ने चिकित्सक डा रवीन्द्र पाण्डेलाई जीवनमा अहिले निकै सन्तुष्टि मिलेको छ । उनले आजसम्म भूकम्प प्रभावित जिल्लामध्ये आठ जिल्लामा पचास वटा शिविर चलाएर करिब सात हजारको स्वास्थ्य जाँचे, निःशुल्क औषधि र अन्य राहत सामग्री पनि वितरण गरे । काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र गोरखाका नगर र गाउँ गाउँमा उनले कतै मोटरमा र कतै पैदलै स्वास्थ्योपचार दिन भ्याए । ‘गोरखा भूकम्प’ लगत्तै छाउनी–सीतापाइला, स्वयम्भू क्षेत्र अवलोकन गर्न पुग्दा सय जनाको मृत्यु भएको आँखैले देखे । घाइते भएकाहरुलाई एम्बुलेन्स र अन्य सवारी साधन बोलाउँदै साँझसम्म अस्पताल पठाए । उनी भोलिपल्टदेखि घरमै बसी प्रत्यक्ष निःशुल्क स्वास्थ्योपचारमा लागिहाले । उनले हातैले ३० वटा पोस्टर लेखे र ठाउँ ठाउँमा टाँसे सूचनाका लागि । पहिलो दिन करिब डेढ सयलाई घाउ सफाइ गर्दै औषधि दिए । 

त्यसपछि रामकोटमा प्राथमिक उपचार गरे, औषधि दिए । उनी पत्नी दीपा भण्डारीलाई लिएर साँखुमा गए त्रिपाल र खाद्य सामग्री राहतसमेत लिएर । भत्केका घरवालालाई केही त्रिपाल दिए, केही शङ्खरापुर नपा वडा कार्यालयलाई दिए । त्यहाँ एक दिन स्वास्थ्य शिविर चलाए, मर्सी मलेसियाको शिविरलाई बचेको औषधि दिए । फेरि रामकोट गए र करिब ३०० बिरामी हेरे । इचङ्गुमा आयोजित शिविरमा भीमढुङ्गा, मनमैजुदेखिका पीडित आए । त्यहाँ उनले सटरको पेटी र मुढामा बसेर सेवा गरे । त्यसपछि हिँडेरै ललितपुरको विकट डाँडागाउँ गाविस गए र पूरै खण्डहरका बीच १७० को उपचार गरे । भक्तपुर झौखेलमा चौरमा बसेर शिविर चलाए, जहाँ १०० जना जतिको उपचार भयो । पुरानो नैकापमा भने २०० मध्ये ८० प्रतिशतमा उनले निद्रा नलाग्ने, डर लाग्ने, तर्सने, बालकहरु निद्रामा चिच्याएर उठ्ने, मानसिक विक्षिप्तता भेटे । 

“वास्तविक पीडितलाई उपचार गर्न र औषधि दिन पाएकामा निकै सन्तुष्टि मिलेको छ” – उनले भने – “भूकम्प आउने चर्चा, ९ रिक्टर स्केलको हल्ला तथा मङ्गलबार–शनिबार भूकम्प आएकाले ती दिन मानिस डराउने देखियो, तिनलाई मनोपरामर्श दिनुपर्ने महसुस भयो ।”

धादिङमा केही युवाहरु आफूहरुलाई भूकम्पपीडित भनी राहत माग्दै गाडी रोक्न आउँदा डा पाण्डेले यसो भनेछन् – “युवाहरु कहिल्यै पीडित हुँदैनन्, पीडितहरु कहिल्यै युवा हुँदैनन् ।” त्यसपछि उनीहरु पाखा लागेछन् । छत्रे देउराली, जीवनपुर जस्तो पानी पाइने र स्वच्छ ठाउँमा पनि राहतका नाममा मिनिरल वाटर र ट्वाइलेट पेपर बाँडेको देखियो, उनको अनुभवमा राहत दिने र लिनेले त्यहाँ राहतको अर्थ बुझ्न सकेनन् ।

उनले काठमाडौँको डाँडापौवामा गर्भवती र सुत्केरी शिविर चलाए । गर्भवतीहरु शिविरमा आए पनि सुत्केरी आउन नसकेकाले उनले घर घरमा गई आइरन चक्की, क्लोरिन, प्रोटिन र भिटामिन र सुत्केरीलाई खान मिल्ने खानेकुरा दिए । शिशुलाई भने लिटो बनाउने खाद्य पदार्थ बाँडे । त्यो निकै प्रभावकारी भएको उनको अनुभव छ ।

त्यस्तै सीतापाइलामा उनले प्रौढ शिविर पनि चलाए । युवाहरुसँग सहकार्य गरेर बालाजुदेखि नेपालटारसम्मका घर घरबाट ज्येष्ठ नागरिकलाई शिविरमा ल्याउने र पु¥याउने काम भयो । उनीहरुलाई मालिस गरियो, घाउ चोटपटक लागेको ठाउँमा औषधि लगाइयो, जीवनजल र खानेकुरा दिइयो । करिब ११० ज्येष्ठ नागरिक लाभान्वित भए । उनीहरु निकै खुसी भए । उनी नुवाकोटका चाउथे, कुमरी र बेलकोट पनि गाडी र पैदल पुगे ।

उनले हास्यव्यङ्ग्य संस्था सिस्नुपानीसँग सहकार्य पनि गरे । सिस्नुपानीको प्रहसन र उनको स्वास्थ्य शिविर सँगसँगै चल्यो । मनोज गजुरेल, लक्ष्मण गाम्नागे, टङ्क आचार्य, जीवन आचार्य, कमलीकान्त भेटवालको गीत, प्रहसन र प्यारोडीबाट भूकम्पपीडितले राहतको अनुभव गरे । मेलम्चीस्थित नेपाली सेनाको भीमकाली गण र इलाका प्रहरी कार्यालय रातदिन खोज र उद्धारमा संलग्न छन् । उनीहरुले चार पाँच हजारको ज्यान जोगाएको बताइएको छ । आफैँ पीडित भए पनि सैनिक र प्रहरी खटिरहेका छन् । त्यहाँ आयोजित कार्यक्रममा गणपति प्रेम हमालले आफूहरु एक महिनापछि राम्रोसँग हाँस्न पाएको प्रतिक्रिया दिएको डा पाण्डेले बताए । सिन्धुपाल्चोकका मेलम्ची बजार र खाडीचौर तथा काभ्रेपलाञ्चोकको पाँचखाल तथा धादिङबेंसीमा पनि प्रहसन, गीत, मनोपरामर्श सँगसँगै चलेको थियो । सिन्धुपाल्चोकको हेलम्बु र धादिङका गाउँमा पनि उनले बाकसमा राखेर सिटामोलदेखि रक्तचापसमेतका थुप्रै औषधि पठाइदिए । खाडीचौरमा खेतीपाती भएका मान्छे पनि राहत माग्न आएकामा उनलाई दुःख लाग्यो । एउटा घर पनि सद्दे नभएको सिन्धुपाल्चोकको भोटेचौरमा ४५० जनालाई जाँच गरेर पूर्ण मात्राकै औषधि वितरण गरे ।

यसबीचमा उनले पालमा बसेकाहरुमा श्वासप्रश्वास, आउँ, झाडापखाला, टाइफाइड, ग्यास्ट्रिक, कमलपित्त, घाउ पाक्ने, तनाव, चिन्ता,त्रास, हल्का उदासीनता, आनीबानीमा विकृति, मानसिक रोग, पागलपन, कराउने चिच्याउने, रुने, असह्य अनुभुति हुने, काम गर्न मन नलाग्ने जस्ता रोग र रोगी फेला पारे ।

“सुनधारामा रहेको धरहरा ढले पनि हामीमा रहेको आत्मविश्वासको धरहरा भने ढल्न दिनुहुँदैन, नत्र परिवार, समाज र राष्ट्र नै प्रभावित हुन्छ”, लघुकथाकार पनि रहेका रवीन्द्र समिरले भने, “ व्यक्ति र समाजले काम गर्न छाडे भने उत्पादन बन्द भई मुलुकको अर्थतन्त्र धराशायी हुन्छ ।” नेपाली स्वाभिमान र आत्मविश्वासलाई जगाउनुपर्र्ने उनको सुझाव छ । भूकम्पपीडित भन्दै आफ्नो घर बहालमा दिएर माग्ने बानी देखिएकामा उनलाई चिन्ता लागेको छ । यसले समाजलाई विकृत बनाउने उनको ठम्याइ छ ।  

सरकारले गाउँ गाउँमा र सहरका कुना कुनामा औषधि र चिकित्सक पु¥याउन उनले आग्रह गरे । मानसिक रोग हटाउन विद्यालय र कलेजका पाठ्यक्रममा सो विषय समावेश गर्नुपर्ने उनको सुझाव छ । घरपरिवार, समाज, स्वास्थ्यचौकी आदिमा मानसिक रोगबारे छलफल गर्नुपर्ने सल्लाह पनि जनस्वास्थ्य विशेषज्ञ डा पाण्डेले दिए । उनले आफू विशेषज्ञ भइकन पनि ग्रामीण स्वास्थ कार्यकर्ताको भूमिका निर्वाह गर्न पाएकामा निकै गौरव पनि महसुस गरेका छन् ।

“मुलुकका करिब पन्ध्र हजार चिकित्सक, हजारौँ औषधि पसल तथा लाखौँ स्वास्थ्य कार्यकर्ता, सुँढेनी आदि भूकम्प जस्ता प्राकृतिक प्रकोपमा स्वयम्सेवी भएर लागेका भए नेपाली जनताको शारीरिक र मानसिक रोग निर्मूल गर्न निकै सहयोग पुग्ने थियो, हामी जस्ता विशेषज्ञ तमासे भएर बस्नु हुँदैन” – उनले भने ।

अब उनी एक हप्ताको छुट्टाछुट्टै सामान्य शल्यक्रिया शिविर, बालबालिका शिविर तथा मधुमेह र रक्तचापको शिविर चलाउने योजनामा छन् । अनि विषयवस्तु कापीमा टिपिसकेको तर लेख्न नपाएका साठी लघुकथा फुर्सदमा लेख्ने योजना त उनको छँदैछ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना