गिद्ध संरक्षणमा जटायु रेष्टुरेन्ट

giddha
लक्ष्मण पौडेल भैरहवा, पुस २ गते । झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ । रेष्टुरेन्टमा खाना र खाजा खाने मान्छे मात्रै हुन् भन्ने हाम्रो बुझाई पछिल्ला दिनमा फेरिन थालेको छ । अब गिद्धका लागि पनि रेष्टुरेन्टको व्यवस्था गर्न थालिएको छ । गिद्ध लोप हुँदै जान थालेपछि जोगाउनका लागि रेष्टुरेन्टको व्यवस्था गर्न थालिएको हो ।
रेष्टुरेन्ट खोलेर गिद्धका लागि खानाको व्यवस्था गरेपछि प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षण अभियान थालिएपछि अहिले लोपोन्मुख गिद्ध पाइन थालेका छन् । रेष्टुरेन्टमा मान्छेका लागि विभिन्न परिकार पाइएपछि गिद्धका लागि कुनै विशेष हुँदैन । त्यहाँ हुन्छ केवल गिद्धका लागि खानयोग्य मृत पशुको मासु ।
गिद्धका लागि खोलिएको जटायु रेष्टुरेन्टको नजिकै वृद्ध गाई पालिन्छ । उनीहरु मरेपछि छाला काडेर फालिन्छ । गिद्धका लागि खानयोग्य यही मासु नै रेष्टुरेन्टको विशेषता हो ।
रुपन्देहीको बिसुनपुरामा २०६५ सालमा खुलेको जटायु रेष्टुरेन्टले गिद्ध संरक्षणमा प्रभावकारी भूमिका खेलेको छ । अहिले यहाँको जटायु रेष्टुरेन्टमा ४३ वटा वृद्ध गाईगोरु छन् । ती गाईगोरु मरेपछि नजिकैको जंगलमा फालिन्छ । त्यसरी फालिएको मृत गाई खान गिद्धको लस्कर लाग्ने गरेको छ । “पहिले हामीले गिद्ध जोगाउने कुरा बुझेनौं, अब यसबारेमा राम्ररी बुझेका छौं”—गैडहवा ताल जटायु रेष्टुरेन्टका संयोजक बाबुराम मल्लले भन्नुभयो ।
जटायु रेष्टुरेन्ट खुलेपछि गैंडहवा क्षेत्र पर्यटक केन्द्र बन्दै गएको छ । लोपोन्मुख गिद्ध हेर्नका लागि अहिले देशविदेशबाट पर्यटक यहाँ आउन थालेका छन् । गिद्ध हेर्नका लागि भ्युटावर बनाइएको छ । यही भ्युटावरमा बसेर पर्यटकले दुरविनको सहायताले गिद्ध हेर्न सक्छन् । पर्यटकलाई आन्तरिक र बाह्य छुट्टाछुट्टै शुल्क तोकिएको छ । आन्तरिकको लागि ५० रुपैयाँ छ भने बाह्यका लागि २ सय ५० रुपैयाँ शुल्क लिने गरेको मल्लले बताउनुभयो ।
जटायु रेष्टुरेन्ट खुल्नुअघि छिटपुट रुपमा गिद्ध पाइएकामा अहिले प्रशस्त गिद्ध पाइन थालेका छन् । चराविद् दिनेश गिरीका अनुसार अहिले सम्म यहाँ एकैपल्ट २ सय ८२ गिद्ध भेटिएका छन् ।
२०६६ मा भदौमा रेष्टुरेन्ट “सिनो” मा भेटिएका २ सय ८२ गिद्ध मध्ये २ सय ७७ डंगर र सेतो खैरो पाँचवटा थिए । २०६३ सालको असोजमा नवलपरासीको पिठौलीमा जटायु रेष्टुरेन्ट स्थापना गरेर गिद्ध संरक्षण सुरु गरिएको हो । त्यहाँ रेष्टुरेन्ट प्रभावकारी भएपछि नेपाल पंक्षी संरक्षण संघले समुदायलाई सक्रिय बनाएर देशका विभिन्न स्थानमा जटायु रेष्टुरेन्ट खोलेको छ ।
अहिलेसम्म दाङको लालमटिया, बिजौरी, बर्दियाको खुटिया, कास्कीको घान्द्रोक र कोशी टप्पु क्षेत्रमा जटायु रेष्टुरेन्ट खुलेको छ । पिठौली जटायु रेष्टुरेन्टका संयोजक डिवी चौधरीले रेष्टुरेन्ट चलाउनुअघि यहाँ गरेको अध्ययनमा १७ वटा गिद्ध पाइएका थिए । गत वर्ष यहाँ गरेको गणनामा १ सय ८० गिद्ध पाइएका थिए । चारवर्ष अघि पिठौलीका तीन सामुदायिक वनमा गरेको अध्ययनमा गिद्धका ६७ वटा गुँड पाइएका चराविद दिनेश गिरीले बताउनुभयो ।
हरेक वर्षको जाडोयाममा गिद्धको गणना गर्ने गरिन्छ । नवलपरासीको पिठौलीमा भन्दा रुपन्देहीको गैडहवामा धेरै गिद्ध भेटिएकोले गिद्धको संख्या बढ्दै गएको पाइएको पंक्षीविद्हरुले बताएका छन् ।
पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुन थालेपछि संरक्षणका लागि जटायु रेष्टुरेन्ट स्थापना गरेर गिद्ध संरक्षण थालिएको हो । पशु उपचारमा प्रयोग गर्ने डाइक्लोफेनेक औषधिका कारण गिद्ध संकटमा परेको पत्ता लागेपछि योे औषधिको उत्पादन, वितरण र प्रयोगमा रोक लगाइएको छ । यो औषधिको प्रयोग गरी उपचार गर्दागर्दै मरेका वा पछि बुढ्यौलीले मरेका गाई भैंसीको सिनोले गिद्धलाई संकटमा पारेको अनुसन्धानबाट थाहा लागिसकेको छ ।
नेपालमा पाईने सानो खैरो, जंगार, सुन गिद्ध, गोब्रे, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र हाडफोर गिद्ध मध्ये सानो खैरो, जंगर, सुनगिद्ध र गोब्रे गिद्धलाई आयुसिनले अतिसंकटोन्मुखको सुचीमा राखेको छ । राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र हाडफोर गिद्ध पनि संकटको नजिक पुगिरहेको आयुसिएनको भनाई छ ।
विश्वमा पाईने २२ प्रजातिका गिद्धमध्ये ९ प्रजातिका गिद्ध दक्षिण एशियामा पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजातिका गिद्धमध्ये यहँका जटायु रेष्टुरेन्टमा आठ प्रजातिका गिद्ध आएका पंक्षीविद् गिरीले जानकारी दिनुभयो ।
भारतमा गरिएको एक अध्ययन अनुसार १ हजार ३ सय सिनो मध्ये १ हजार १ सय सिनोमा डाइक्लोफेनेक भेटिएको थियोे । सिनोमा दुई प्रतिशत डाइक्लोफेनेक भेटिएमात्रै पनि गिद्ध मर्छन् भन्ने अध्ययनले देखाएको नेपाल पंक्षी संरक्षण संघ गिद्ध संरक्षण कार्यक्रमका संरक्षण अधिकृत चौधरीले बताउनुभयो । नेपाल र भारतमा सन् १९९० मा ५ लाख गिद्ध पाइएकोमा हाल ९९ दशमलव ९ प्रतिशत गिद्ध लोप भइसकेको अनुमान छ ।
गिद्ध लोप भएर वातावरणीय असन्तुन हुने र प्राकृतिक रुपले अव गिद्ध जोगिन नसक्ने भन्दै सन २००४ मा भारतको दिल्लीमा भएको गिद्ध संरक्षण सम्वन्धी एउटा सम्मेलनले निष्कर्ष निकालेको थियो । त्यसपछि गिद्ध संरक्षणका लागि जटायु रेष्टुरेन्टको अवधारणा ल्याइएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना