राहत वितरणमा एकरुपता कायम गर्न मन्त्री केसीको निर्देशन

चितवन, असार १ गते । महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले चितवनका भूकम्प प्रभावित पहाडी गाविसलाई तत्काल सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सम्भव नदेखिएको बताउनुभएको छ । जिल्लाका राजनीतिक दलहरुले सो क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेपछि जिल्ला विपद् व्यवस्थापन समिति चितवनको आज यहाँ डाकिएको विशेष बैठकलाई सम्बोधन गर्दै उहाँले पहाडी गाउँमा प्रभावित र प्रभावित नभएका दुवैको अवस्था उस्तै रहेकाले तत्काल सङ्कटग्रस्त घोषणा गर्नुको तात्विक अर्थ नरहने बताउनुभयो ।

चितवन र मकवानपुर जिल्लाको भूकम्प पछिकोे अवस्था हेर्ने जिम्मा पाउनुभएका मन्त्री केसीले प्रभावित ३४ वटा जिल्लाभित्र चितवन पनि परेकाले राज्यको तहबाट पाउने जति सुविधा दिलाउन आफ्नो पहल रहने विश्वास दिलाउनुुभयो ।

उहाँले क्षतिको विवरण पारदर्शी बनाउन र राहत वितरणमा एकरुपता कायम गर्न निर्देशन पनि दिनुभयो । बैठकमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले विपत्ति अघिको तयारी नपुग्दा क्षति बढी भएको बताउनुभयो ।

बाल कल्याण समितिका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीले भूकम्पपछि महिला र बालबालिका बेचबिखन बढेको देखिएकाले गाविस सचिवहरुले फर्जी सिफारिस दिन नहुने बताउनुभयो ।

भूकम्पका कारण चितवनमा १० जनाको मृत्यु भएको छ भने २३ हजार ९२९ घरमा क्षति पुगेको छ । यसमध्ये दुई हजार ३३६ घर पूर्णरुपमा क्षति भएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना