कञ्चनपुरमा सीमाक्षेत्रको स्थानीय प्रशासनबाट अनुगमन

भीमदत्तनगर, जेठ ३१ गते । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा शनिबार कञ्चनपुरको दक्षिणीक्षेत्रको सीमाक्षेत्रको स्थानीय प्रशासनले अनुगमन गरेको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ नेतृत्वको टोलीले कञ्चनपुरको रौतेली विचुवा गाविस–९ मा पर्ने नेपाल–भारत सीमा स्तम्भ नम्बर २९ देखि परासन नगरपालिकासम्मका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा दुवै देशका स्थानीय नागरिकहरूबाट केही क्षेत्रमा दसगजा क्षेत्रमा खनजोत गरेको देखिएको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा स्थानीय बासिन्दा र गाविस र इलाकास्तरमा खटिएका सुरक्षाकर्मीहरूले सीमा स्तम्भ, दसगजा अतिक्रमण र देखिने गरेको विवादका बारेमा टोलीलाई जानकारी गराएका थिए ।

रौतेली विचुवा गाविस क्षेत्रमा पर्ने २८ नम्बर सिमा स्तम्भदेखि ३१ नम्बरसम्म केही स्थानमा पहिले भारतीय स्थानीय नागरिकले दसगजा क्षेत्रमा ट्याक्टर लगाएर खनजोत गरेको स्थानीयको भनाई छ । खनजोत गरेपछि झिलमिलाका स्थानीयले विरोध जनाएपछि खनजोत गरेको क्षेत्रमा बालीनाली नलगाएको प्रहरी चौकी झिलमिलाका प्रहरी सहायक निरीक्षक प्रताप चन्दले बताउनुभयो ।

‘अहिले तत्काल सिमाक्षेत्रमा अवस्था सामान्य छ,’ अनुगमन टोली समक्ष चन्दले भन्नुभयो–‘धेरै विषयमा दुई देशबिच समझदारीमै चलेको छ ।’ त्यसैगरी अनुगमन टोलीमा रहनुभएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक किशोर कुमार दाहालले सिमाक्षेत्रका स्थानीय नागरिकहरुलाई दसगजा क्षेत्रमा अनावश्यक खनजोत गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो ।

अनुगमनका क्रममा यहाँको सिमास्तम्भ नं। ३४ नजिक दसगजासंग
भारतीय सिमा सुरक्षा बल ९एसएसबी० ले स्थायी क्याम्प बनाएको देखियो ।

त्यसैगरी, बेलौरी नगरपालिका–१४ मा पर्ने सिमास्तम्भ नम्बर ३५ को क्षेत्रमा पनि भारतीय किसानले केही समयअघि दसगजामा खनजोत गरेको र पछि स्थानीय स्तरको वार्तापछि समस्या समाधान गरिएको समेत अनुगमनका क्रममा देखिएको छ ।

साथै, परासन नगरपालिका–१ मा १९५ सिमास्तम्भ ढलेको अवस्थामा छ भने १९५ देखि १९७ सिमास्तम्भको बिच भागमा पटक–पटक भारतीय पक्षले अतिक्रमण गर्ने गरेको स्थानीय कुवेर नाथले बताउनुभयो । केही समयअघि पनि सो क्षेत्रमा भारतीय पक्षले सिमास्तम्भ सारेको स्थानीयको दाबी छ ।

अनुगमन पश्चात सहायक प्रजिअ श्रेष्ठले सिमाक्षेत्रको समग्र विषयका बारेमा दुई देशबिच हुने जिल्ला र क्षेत्रीय स्तरको बैठकमा कुरो उठाउने बताउनुभयो । ‘बैठकमा सिमानाका समस्याका बारेमा कुरो उठाउँछौं,’ उहाँले भन्नुभयो–‘अहिले तत्काल नयाँ विवाद भने देखिएन ।’

अनुगमन टोलीमा सहायक प्रजिअ श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख दाहाल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक भीमबहादुर बुढा, सडक डिभिजन कार्यालयका प्रमुख विनोदकुमार महोवार, इन्जिनियर दिलानन्द गिरी, जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन नं।७ कार्यालयका इन्जिनियर मंगलबहादुर सिंह लगायतको सहभागिता रहेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना