ताप्लेजुङ पहिरोमा ५८ जनाको मृत्यु

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २८ गते । ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षापछि खसेको पहिरोमा परी ५३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर बेपत्ता हुनेको सङ्ख्या अझै यकिन हुन सकेको छैन ।

बुधबार साँझ ७ः३० बजेदेखि भीषण वर्षा हुन थालेको थियो । स्थानीयवासीका अनुसार राती १२ः३० बजेदेखि पहिरो खस्न थालेको हो । लिबाङ गाविसमा सबैभन्दा बढी २६ जनाको मृत्यु भएको छ । लिबाङ गाविसको वडा नं. १,२,३ र ४ बढी प्रभावित छन् ।

पहिरोमा परी मृत्यु हुनेमा लिबाङ–३ का भक्तजन लिम्बू, मनमाया लिम्बु, पञ्चमाया लिम्बू, शैलेन्द्र लिम्बू, चित्तमाया लिम्बू रहेका छन् ।

यस्तै, वडा नं. १ का प्रेम फेम्सोहाङ, अञ्जु लिम्बू, शिक्षा लिम्बू, जुनु लिम्बू, प्रेम लिम्बू, शिशिर लिम्बू, सपना लिम्बू, निमाखाङ्डु शेर्पाको पनि मृत्यु भएको छ । अन्यको सनाखत भई नसकेको लिबाङ–८ का स्थानीय हेम लिम्बूले जानकारी दिनुभयो ।

यस्तै, सान्थाक्रा गाविसमा १२ जनाको मृत्यु भएको छ । सान्थाक्रा–३ का अमरबहादुर लिम्बू र उहाँका नाति सुजनको मृत्यु भएको छ । बाँकीको सनाखत हुन सकेको छैन ।

लिङ्तेप र खोक्लिङमा तीन÷तीन जनाको मृत्यु भएको जनाइएको छ । लिङ्तेप–७ का भीमबहादुर केदेम, चमेली लिम्बू र वडा नं. ३ की ३१ वर्षीया मनमाया लिम्बूको मृत्यु भएको छ ।

खोक्लिङ–७ मा ११ वर्षीय सविन मादेन, वडा नं. ८ का १० वर्षीय वसन्त विश्वकर्मा र वडा नं. ५ का मनकुमारी लाम्गादेको मृत्यु भएको छ ।

त्यस्तै, थिङ्लाबुमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ की मनकुमारी लिम्बू, २७ वर्षीया रनु लिम्बू, ७० वर्षीय रिञ्जी शेर्पा, सात वर्षीया सीता लिम्बू, माया लिम्बू, मेनुका लिम्बू, मोहन लिम्बू, सन्तोष थाङ्देन, पुष्पा थाङ्देन र नाम नखुलेकी चन्द्रसिंह लिम्बूकी श्रीमतिको मृत्यु भएको छ ।

मृतकहरू सबैको शब पहिरोले पुरिएको अवस्थामा फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

बेपत्ताको सङ्ख्या २० रहेको प्रहरीले जनाएको छ । उक्त सङ्ख्यामध्ये नौ जनाको पुष्टि भएको र अन्य १३ जनाको भने पुष्टि हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयबासीले भने बेपत्ता हुनेको सङ्ख्या अझ धेरै रहेको बताएका छन् । स्थानीयबासीका अनुसार लिबाङमा ३० जनाभन्दा बढी बेपत्ता छन् । यस्तै थिङ्लाबुमा सात जना र सान्थाक्रामा पनि धेरै बेपत्ता छन् ।

पहिरोले पुरिएर घाइते भएकामध्ये १० जनालाई गृह मन्त्रालयले पठाएको नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार साँझ उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

उनीहरूमध्ये अधिकांशलाई सुविधासम्पन्न अस्पतालमा पठाइनुपर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ ।

पहिरोले सान्थाक्रा, लिबाङ, थिङ्लाबु, खोक्लिङ, लिङ्तेप लगायतका गाविसमा मात्रै करिव तीन दर्जन घर बगाएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि घर, गोठ, विद्यालय, झोलुङे पुल, पाटी पौवा पहिरोले बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।

बाढी र पहिरोकै कारण खाम्लुङको दोभानबजार उच्च जोखिममा परेको छ । इलाका प्रहरी कार्यालय दोभानका अनुसार दोभान बजारका स्थानीय श्याम लिम्बू, पवन लिम्बू र दावा शेर्पाको घर पहिरोले भत्किसकेको छ ।

दोभान बजार नजिक बग्ने मैवाखोलामा पानीको बहाव बढेकाले बजार उच्च जोखिममा परेको र त्यहाँका व्यवसायीसमेत छ दर्जनभन्दा बढी घरका बासिन्दा अहिले आफ्ना सरसामानसहित सुरक्षित स्थानतिर सरिसकेको स्थानीय व्यापारी मानबहादुर चोङ्बाङले जानकारी दिनुभयो ।

पहिरोले पु¥याएको सम्पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिनुभयो ।

प्रजिअ निरौलाका अनुसार उद्धार र क्षतिको विवरण सङ्कलन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सबै निकाय परिचालन भएका छन् ।

मौसम प्रतिकूलताका कारण गृह मन्त्रालयबाट हेलिकप्टर ल्याइए पनि समयमै घाइते तथा पहिरो पीडितको उद्धार गर्न सकिएको थिएन ।

बिहीबार बिहानसम्ममा पानी पर्ने क्रम केही कम भए पनि गाउँबस्तीमा रहेका खोला खोल्सामा पानीको मात्रा बढेको र ठाउँ ठाउँमा पहिरो खस्ने क्रम जारी रहेकाले स्थलगत उद्धारमा समेत कठिनाइ भइरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना