ताप्लेजुङमा पहिरो : १५ जनाको मृत्यु, सयौँ बेपत्ता

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २८ गते । ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा खसेको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको खोक्लिङ गाविसमा दुई जना बालकको मृत्यु भएको छ । खोक्लिङ–७ का राजकुमार मादेनको घर पहिरोले बगाउँदा मादेनका ११ वर्षीय छोरा सविन मादेनको मृत्यु भएको छ । सोही घरमा आएर बस्नुभएका छिमेकी बालक १० वर्षीय वसन्त विश्वकर्माको पनि मृत्यु भएको छ । त्यस्तै खोक्लिङ–५ का मयामेको पूरै परिवार बेपत्ता भएका प्रहरीले जनाएको छ ।  त्यस्तै लिङ्तेप गाविसमा तीन जनाको मृत्यु भएको छ । लिङ्तेप–७ का भीमबहादुर केदेम, आइतबहादुर लिम्बूकी छोरी चमेली र वडा नं. ३ का सञ्जबहादुरकी श्रीमती मनमाया लिम्बूको मृत्यु भएको छ । आइतबहादुर बेपत्ता रहेका लिङ्तेप गाविस सचिव निर्मल शेर्पाले जानकारी दिनुभयो ।
यसैगरी थिङ्लावु–६ मा पाँच जनाको मृत्यु भएको र उहाँहरूको सनाखत भई नसकेको प्रहरीले जनाएको छ ।  यस्तै सान्थाक्रामा दुई जनाको मृत्यु भएको छ । सान्थाक्रा–३ का अमरबहादुर लिम्बू र नाम नखुलेका उहाँका नातिको मृत्यु भएको स्थानीय तेजकुमार लिम्बूले जानकारी दिनुभयो । taple jung
लिवाङमा एक जनाको मृत्यु भएको छ । लिबाङ–३ का देबेन्द्र लिम्बूको मृत्यु भएको छ भने उहाँको परिवारका अन्य सदस्य र लिबाङ–३ कै मानध्वज लिम्बू र रामचन्द्र गिरीको परिवार बेपत्ता भएका छन् ।
स्थानीयबासीका अनुसार लिवाङमा छ घर, लिङ्तेपमा सात, खोक्लिङमा नौ र थिङलाबु गाविसमा छ घर पहिरोले बगाएको छ ।
यस्तै बाढी र पहिरोका कारण खाम्लुङको दोभान बजार उच्च जोखिममा परेको छ भने त्यहाँका स्थानीय श्याम लिम्बू, पवन लिम्बू र दावा शेर्पाको घर पहिरोले बगाएको इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवीप्रसाद फागोले जानकारी दिनुभयो ।
फागोका अनुसार दोभानबजारका अधिकांश स्थानीयबासी ज्यान बचाउन सुरक्षित स्थानतिर सर्न थालेका छन् ।  यस्तै लिङ्तेपस्थित मेवाखोला किनारमा रहेको रामदुवाली बजारका स्थानीय इन्द्र लिम्बू, बसन्त लिम्बू, दलबहादुर लिम्बू, भवान सिंह लिम्बू, राजकुमार लिम्बूका सहित आठ घर बाढी पहिरोले बगाएको छ ।
ती घर बगाउँदा मानवीय क्षति पनि भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  हाल जिल्लाका विभिन्न गाविसमा बाढी पहिरोले ठूलो जनधनको क्षति पु¥याएको खबर आइरहेको र यथार्थ विवरण सङ्कलन भइरहेको प्रनाउ शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार गाउँ गाउँमा रहेका प्रहरी विट परिचालन गरिएको छ भने जिल्लाबाट प्रहरी निरीक्षक विज्ञान बस्नेतको नेतृत्वमा विवरण सङ्कलनका लागि घटनास्थलतर्फ खटाइएको छ ।
यस्तै सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतिर गएको बताइएको छ ।
बिहीबार विहान आठ बजेपछि पानी पर्ने क्रम केही रोकिए पनि गाउँबस्तीमा रहेका खोला खोल्साहरू बढेका र ठाउँ ठाउँमा पहिरो खस्ने क्रम जारी रहेकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नमा कठिनाइ भएको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।  निमित्त प्रजिअ भट्टराईका अनुसार प्रतिकूल मौसमका कारण हेलिकोप्टर बस्न नसक्दा १० जना गम्भीर घाइतेको उद्धार हुन सकेको छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना