मुरी फलाउने अवसर

Luckyलक्की चौधरी

किसानले ‘मानो रोपेर मुरी फलाउने’ वर्षायाम शुरु हुँदैछ तर नेताहरूका लागि त्यो क्षण वैशाख १२ गतेको भूकम्प लगत्तै शुरु भइसकेको छ । त्यसका लागि नेता, कार्यकर्ता, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा व्यक्ति आफ्ना हात नै पीडितका घाउमा मल्हम–पट्टी लगाउन शुरु गरिसके, गरिरहेका छन् । भूकम्प पीडितको उद्धार र पुनर्निर्माणमा मेहनत र पसिना लगानी गर्नेहरू नै भोलि मानो फलाउँछन् । बीउ नरोपी फलको आशा गर्न सकिंदैन । नेताहरूका लागि यही विपत्तिकै बेला बीउ रोप्ने उपयुक्त समय हो । यस्तै संकटले नेतृत्वकर्ता जन्माउँछ । आज रोपेको सहयोगी हातको बीउले भोलिको निर्वाचनमा मुरी फलाउनेछ । जसले मह काढ्यो उसले हात चात्यो भन्ने नेपाली उखान त्यत्तिकै आएको होइन । त्यसैले पनि संविधानसभामा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलका नेता कार्यकर्ता अहिले पीडितको पक्षमा उभिएका पाइन्छन् । संकटको बेलामा यो मानवीयताको भावना पनि हो । दुःख सुखमा साथ दिएर राष्ट्रिय एकता कायम गर्ने सुअवसर पनि हो ।
भूकम्प पीडितको पुनःस्थापनासँगै विगत नौ वर्षदेखि बन्न नसकेको संविधान बनाउने अर्को अवसर नेताहरूलाई छ । नेताहरूबीचको तिक्तता, मनोमालिन्य तथा अविश्वासका कारण संविधानका विवादित अन्तरवस्तुमा सहमति कायम हुन सकेन । अविश्वासको खाडल बढेका बेला भूकम्पले ती अविश्वासलाई विश्वासमा बदल्न सहयोग गरेको छ । महासंकटले सबै नेपाली मनलाई जोड्ने काम गरिदिएको छ । त्यसकै परिणाम आज राजनीतिक दलका नेता सघन वार्तामा छन् । विवादित विषयमा सहमति गर्ने अन्तिम प्रयास गरिरहेका छन् र परिणाम आउने सम्भावना नजिकिएको छ । यस्तो विपत्का बेला विगतमा तितरबितर भएका मनलाई जोड्नुपर्छ । तेरो मेरो भावना हैन, हाम्रो भावनाको विकास गर्नुपर्ने भूकम्पले शिक्षा दिएको छ र त्यो हुनेक्रममा छ, भइरहेको छ । सबैको सहयोगी हातले टुटेको मन र भावनालाई जोड्नुपर्छ । त्यहींबाट एकताको शुरुवात हुन्छ । भ्रातृभाव र भाइचाराको सन्देश जान्छ । यही विपत्तिका बेलामा भूकम्प पीडितको पुनःस्थापनासँगै नयाँ संविधान जारी गरेर विश्वलाई नेपाली एकताको सन्देश दिन सक्नुपर्छ । यो समय नेपाल र नेपालीका लागि सुवर्ण अवसर हो । राष्ट्रिय शोकलाई शक्तिमा बदल्ने शुभ घडी हो ।
वैशाख १२ (७ दशमलव ६ रेक्टर स्केल), १३ (६ दशमलव ८ रेक्टर स्केल) र २९ (६ दशमलव ९ रेक्टर स्केल) गतेको भूकम्पले गरेको सबै क्षतिको मापन तत्काल गर्न सकिंदैन । धरातलको पृथ्वीको जग हल्लिएका बेला क्षतिको मापन त्यसको असरले कहिलेसम्म क्षति हुने हो, विस्तारै मापन हुँदैजानेछ । क्षति भयो भनेर पुर्पुरोमा हात राखेर बिलौना गरेर समस्या समाधान हुँदैन । यो प्राकृतिक महाविपत्ति हो । हाम्रोमा मात्रै होइन, पृथ्वीको यस्तो बिपत्ति सबै ठाउँमा आइपर्छ । सबैलाई यस्तो संकटबाट गुज्रनुपर्छ । यस्तो बेलामा हामी आफैले जीवन लगाएर आर्जन गरेको श्रीसम्पत्ति नै हाम्रो दुश्मन भइदिन्छ । करोडौं लगानी गरेर बनाएको घरले नै हामीलाई थिच्छ । भौतिक संरचना निर्माणमा गरिएको लापरवाहीले हाम्रो ज्यान जोखिममा पर्नेगर्छ । हामीलाई अहिलेको भूकम्पले ठूलो शिक्षा दिएको छ । सबैलाई सचेत गराएको छ । अरूसँग प्रतिस्पर्धा गर्ने नाउँमा, नाम र हैसियत देखाउने नाममा आफ्नै ज्यान जोखिममा पर्दा सबैको मन इन्तु न चिन्तु भएको छ ।
गोरखाको बारपाकको मुख्य भूकम्प र त्यसपछि सिन्धुपाल्चोक, दोलखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर गएका पराकम्पनले पहाडी क्षेत्रलाई क्षतविक्षत बनायो । लाखौं घर भग्नावशेषमा परिणत भए । हजारौंको ज्यान गयो । यस्तो महासंकटका बेला सबैको मन त्राहिमाम् र बेचैन छ । सहयोगी हातको यस्तैबेला खाँचो पर्छ । एक अर्काको सहयोगबाटै मानव जीवन पूर्ण हुन्छ । त्यसैले त तराईका थारू, मधेसका मधेसीहरूले समेत आफूले सकेको सहयोग पहाडका लागि गरेका छन् । राहत संकलन, वितरणदेखि पुनःस्थापनाको काममा जुटेका छन् । यस्ले राष्ट्रिय एकता निर्माणमा मद्दत गरिरहेको छ । आज पहाडमा समस्या छ, भोलि यही समस्या तराई मधेसमा आइपर्न सक्छ । आज पहाडलाई सहयोग गरौं । भोलि तराईमा समस्या आउँदा पहाडले सहयोग गर्नेछ । यही नै सहयोगको भावना हो । मानवीयता हो र हामी सबैको कर्तव्य हो । सरकारको मुख ताकेर मात्रै बस्नु मूर्खता हो । सकेको सहयोग सबैले आफ्नो ठाउँबाट गर्नुपर्छ । सहयोगका निम्ति सबै जुट्नुपर्छ । आज यही भावनाको खाँचो छ ।
सरकारले यो गरेन, त्यो गरेन भनेर धेरै आलोचना भइरहेको छ । अरूको आलोचना गर्न निकै सहज हुन्छ । तर आफूले के ग¥यौं भनेर हरेकले मूल्याङ्कन गर्न सक्नुपर्छ । सहयोगका लागि कसैले कसैको बाटो छेकेको छैन । सहयोगी मन भए पदमा बसेकै हुनुपर्छ भन्ने छैन । सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, संविधानसभाका सदस्य तथा सरकारी निकायका उच्च पदाधिकारी हुनुपर्छ भन्ने छैन । आफूले सकेको गच्छे अनुसारको सहयोगले पीडितका लागि ठूलो राहत हुन्छ । चह¥याइरहेको आलो घाउमा मल्हम–पट्टी हुन्छ । हो, सरकार हामी सबैको अभिभावक हो । अभिभावकीय भूमिका खेल्नुपर्छ । तर सीमित स्रोत साधनले सबैको समस्या एकसाथ समाधान सम्भव हुँदैन । सरकार आफ्नो ठाउँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरिरहेको छ । सकेको काम गरिरहेकै छ । केहीले यस्तै बेलामा आफ्नो स्वार्थ पूरा गर्न खोजेको पनि हामीले देखिरहेका छौं । पीडितको राहत सामग्रीमा मोज गरेको देखिरहेका छौं । हरेक समाजमा यस्ता कुतत्व हुन्छन् । त्यस्तालाई सबै मिलेर समाजका अगाडि नङ्ग्याउनुपर्छ । गलत काम गर्नेको पर्दाफास विस्तारै हुँदै जानेछ ।
भत्केको ठाउँमा राजनीतिक दलका नेताहरूको पुनस्र्थापनाको अभियान सह्रानीय छ । लाखौं कार्यकर्ता रहेका दलले संकटका बेला जनताको सेवामा कार्यकर्ता खटाउनु राम्रो पक्ष हो । दलका कार्यकर्ता पनि हाम्रै दाजुभाइ, समाजकै प्रतिनिधि हुन् । दुःखसुख परेका बेला सहयोग गर्ने दस्ता हुन् । यो दस्तालाई त्यहीरूपमा परिचालन गर्न सक्नुपर्छ । समाज परिवर्तनको जिम्मा तिनै युवा कार्यकर्ताको काँधमा छ । यिनै युवाले भत्केका मनहरू जोड्ने प्रयास गरिरहेका छन् । ‘पीडितहरू एक्लै छैनन्, हामी पनि साथमा छौं’ भन्ने सन्देश दिइरहेका छन् । मानवीयता यही हो । कर्तव्य र दायित्व यही हो । अधिकार र अवसर मात्र खोजेर हुँदैन । यस्तै संकटका बेला साथ र सहयोग गरेरै ती अवसर र अधिकार पाइने हो ।
नेकपा (एमाले) ले भूकम्प प्रभावित २५ जिल्लामा पार्टीको २८ हजार स्वयंसेवक परिचालन गरेको छ । राष्ट्रिय स्वयंसेवक परिचालन अभियान नाम दिएर पीडितका भत्केका घर टहरा पुनर्निर्माणमा परिश्रम लगानी गरेको छ, गरिरहेको छ । शीर्ष नेतादेखि गाउँ एकाइ तहका नेता कार्यकर्ता पुनरनिर्माणमा जुटेका छन् । त्यस्तै कांग्रेसका नेता तथा कार्यकर्ता पनि पुनर्निर्माणमा लागेका छन् । एमाओवादीका नेता, कार्यकर्ता पनि त्यही अनुरूप सहयोगमा जुटेका छन् । तराईका थारूले आफूले उत्पादन गरेका अन्न संकलन गरी पहाडमा पठाइरहेका छन् । मधेसीहरूले राहत संकलन गरी वितरण गरिरहेका छन् । सहयोग भनेकै यही हो । मानवीयता भनेकै यही हो । हामी सबै जुट्यौं भने समस्या समाधान आफैं गर्न सक्छौं । विदेशको मुख ताक्नुपर्दैन । मन हुने हो भने हामीसँग स्रोत साधनको कमी छैन । विश्वमा सहयोगी भावनाको सन्देश नेपालबाटै दिन सक्नुपर्छ । अहिले यो अभियान अस्थायी पुनःस्थापनाका लागि मात्र हो । विस्तारै स्थायी पुनःस्थापनामा पनि हाम्रो सहयोगी हात जुटिरहनुपर्छ । हामी नेपाली हुनुको अर्थ पनि यही हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना