“हामी आफैँ सक्षम छौँ”

Bimalendra nidhiसर्लाही, जेठ २६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले भूकम्पपछि मुलुकको पुनःनिर्माणका लागि नेपाली आफैँ सक्षम रहेको बताउनुभयो । सर्लाहीको हरिवन नगरपालिका कार्यालय भवन शिलान्यास समारोहलाई आज बिहान सम्बोधन गर्दै उहाँले मुलुकका राजनीतिक दलसहित सबै नेपाली एकताबद्ध भए भूकम्पले विपत्तिमा परेको मुलुक पुनःनिर्माण गर्न सकिने बताउनुभयो ।

“हामी कमजोर छैनौँ” मन्त्री निधिले भन्नुभयो, “भूकम्पपछि आइपरेको विपत्तिलाई सम्झेर अहिले पुर्पुरोमा हात राख्ने बेला हैन, सबै नेपाली एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।” उहाँले अब संविधान निर्माणले गति लिने र मुलुकले नयाँ संविधान छिट्टै पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सर्लाहीको नवलपुर–मलङ्गवा एवम् नयाँरोड–मधुवनीसहित १२ हुलाकी सडक पुनःनिर्माणका लागि एक साताभित्र सरकारले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको समेत जानकारी दिनुभयो । “भारत सरकारले पुनःनिर्माण सुरु गरेको पूर्व झापादेखि पश्चिम बर्दियासम्मका १७ वटा सडकका भारतीय ठेकेदार पलायन भएपछि अब हामी आफैँले पहिलो चरणमा १२ वटा सडकको काम अगाडि बढाउने तयारी गरेका छौँ” मन्त्री निधिले भन्नुभयो, “पछि भारत सरकारबाट शोधभर्ना हुने गरी सडक पुनःनिर्माणको काम अगाडि बढाउन थालेका हौँ ।”

नगरपालिका भवन रु सात करोड ५१ लाख १७ हजारको लागतमा निर्माण हुने छ । पहिलो चरणमा हाल दुईतले भवन बनाउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलब्ध गराएको रु एक करोडसहित विभिन्न दातृ निकाय एवम् नगरपालिकाको आफ्नै स्रोतबाट रु चार करोड नौ लाख २३ हजार ५०० बजेट छुट्टयाइएको कार्यकारी अधिकृत होमबहादुर थापाले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना