रुपन्देहीमा एक वर्षीया नाबालिकालाई राहदानी दिएर १२ घण्टे सेवा सुरु

12 hours photoलक्ष्मण पौडेल भैरहवा, पुस १ गते । रुपन्देहीमा एक वर्षीया नाबालिकालाई राहदानी दिएर १२ घण्टे सरकारी सेवा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सामान्य प्रशासन मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्यायले पडसरी–१ की १ वर्षीया नाबालिका आयुमी ढकाललाई बिहान ६ बजे राहदानी दिएर सेवा शुभारम्भ गर्नुभएको हो । बिहानको सेवामा ४ पुरुष र ३ महिला गरी ७ जनाले राहदानी लिएको राहदानी फाँटका प्रमुख मिननाथ शर्माले जानकारी दिनुभयो । “आज पहिलो ििदन भएकोले सेवाग्राहीको त्यति भीड देखिएन”–उहाँले भन्नुभयो । त्यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ का १६ वर्षीय विराट सेनले आफ्नो नागरिकता बनाएर पहिलो सेवा लिएको नागरिकता फाँटका प्रमुख यज्ञराज पोखरेलले बताउनुभयो । बिहान ७ बजे नागरिकता लिन प्रशासन कार्यालय पुग्नुभएका सेनले १२ घण्टे सेवाका कारण सहज रुपमा नागरिकता पाएको प्रतिक्रिया दिनुभयो । “म यसअघि आएर पनि धेरै भीड भएकोले त्यसै फर्केको थिएँ, तर १२ घण्टे सेवाले होला सहज रुपमा नागरिकता पाएँ”–उहाँले भन्नुभयो । नागरिकता फाँटका प्रमुख पोखरेलले मंगलबार एक महिलासहित ८ जनाले बिहानी सेवाबाट नागरिकता बनाएको जानकारी दिनुभयो । सरकारले सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा सुरु गरेको १२ घण्टे सेवा धेरै राम्रो रहेको सेवाग्राहीले बताएका छन् । १२ घण्टे सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने भनिए पनि रुपन्देही जिल्ला प्रशासन कार्यालयमा भने सिफ्ट लागु गरिएको छैन । सिफ्ट लागु नहुन्जेल कर्मचारीहरुले बिहान ६ बजेदेखि साँझ ६ बजेदेखि नै ड्युटी गर्ने प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले जानकारी दिनुभयो । “कर्मचारी अभावका कारण सिफ्ट लागु गर्न अझै केही दिन लाग्नेछ, अहिले भने सबै कर्मचारीले १२ घण्टा ड्युटी गर्छन्”–उहाँले गोरखापत्रसँग भन्नुभयो । १२ घण्टे सेवा सुरु गरिएका जिल्ला नापी कार्यालय, मालपोत तथा यातायात व्यवस्था कार्यालयमा पनि मंगलबार पहिलो दिन उल्लेख्य सेवाग्राही आएका थिएनन् । कार्यालयमा पुगेका सेवाग्राहीले सहजरुपमा सेवा पाएको भन्दै खुशी देखिन्थे ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना