फूलबारीद्वारा व्यवस्थापन सम्झौता रद्द

पोखरा, जेठ १८ गते । पोखरास्थित पाँचतारे होटल फूलबारी रिसोर्ट एण्ड स्पाले सो रिसोर्टको व्यवस्थापनको जिम्मा लिएको भारतीय समूह क्लार्कसँगको सम्झौता तोडेको छ ।

रिसोर्टले व्यवस्थापनसम्बन्धी सम्झौता तोडेर सम्पूर्ण जिम्मा आफैले लिएपछि पर्यटक तान्न नयाँ प्याकेज समेत ल्याएको छ ।

सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको क्लार्कसँग एक बर्षमै सम्झौता तोडेर नयाँ योजनाका साथ रिसोर्ट सञ्चालनमा आएको हो ।

पन्ध्र वर्षका लागि क्लार्कसँग व्यवस्थापन सम्झौता गरिएको भएपनि त्यसको कामप्रति असन्तुष्टि जनाउँदै सम्झौता तोडिएको रिसोर्टले जनाएको छ ।

सम्झौता अनुसार पुनर्निमार्णका काम रिसोर्टको लगानीकर्ता अमात्य समूहले गर्ने र व्यवस्थापन तथा बजारिकरणको काम क्लार्कले गर्नुपर्ने थियो । क्लार्क समूहले एक वर्षमा रिसोर्टलाई नाफामा लैजाने दाबी गर्दै सम्झौता गरेको भएपनि राम्रो नतिजा दिन नसकेको अमात्य समूहले जनाएको छ । क्लार्कसँग सम्झौतापछि होटल झन् घाटामा गएको समूहले जनाएको छ ।

भूकम्पपछि नेपालका होटल व्यवसाय सुनसान बनेपछि रिसोर्टले स्थानीय पर्यटकलाई आकर्षण गर्ने खालका योजना अगाडि सारेको छ ।

“भूकम्पपछि सुनसान बनेको रिसोर्ट विस्तारै जाग्न थालेको छ”, आवासीय व्यवस्थापक रोशन खवासले भन्नुभयो, “विदेशीसँगै स्वेदेशी पर्यटकलाई बढी दृष्टिगत गर्दै नयाँ योजनाका साथ रिसोर्ट सञ्चालन भइरहेको छ ।”

भूकम्पपछि रिसोर्टमा अरु बेलाको तुलनामा अहिले भण्डै पाँच प्रतिशत मात्र कारोबार रहेको जनाइएको छ । विस्तारै विदेशी तथा स्वदेशी पर्यटक आउन थालेको खवासले बताउनुभयो ।

फूलबारी रिसोर्टमा मुलुककै पहिलो हेल्थ स्पा, एक्जिक्युटिभ गल्फ कोर्स र हेलिप्याड रहेका छन् ।

व्यापारिक घराना अमात्य समूहले सन् १९९८ बाट पोखरामा सञ्चालनमा ल्याएको रिसोर्टले लामो समयदेखि घाटा व्यहोर्दै आएको छ । रिसोर्टमा १३ सुइट्स, ६२ डिलक्स, ७६ सुपर डिलक्स र १४ रोयल एक्ज्यूकेटिभ गरी १६५ कोठा छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना