सहमतिका आधारमै संविधान निर्माण गर्नुपर्ने एमाओवादी संसदीय दलको ठहर



    काठमाडौँ, मङ्सिर २९ गते  । संविधानसभामा पेस भएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पुनः समितिमै फिर्ता पठाएर सहमति जुटाउन एकीकृत नेकपा(माओवादी)ले आग्रह गरेको छ ।

    एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले संविधान निर्माणका आधार विगतमा दलहरूबीच भएको १२ बुँदे सहमति अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएको सहमति तथा सम्झौता नै भएको भन्दै त्यसका लागि सहमति नै उपयुक्त विकल्प भएको ठहर गरेको छ ।

    संविधानका विवादित विषयमा सहमति जुटाउन प्रतिवेदनलाई संवाद समितिमै फर्काउनुपर्ने निष्कर्ष निकाल्दै बैठकले बहुमतीय प्रक्रियाबाट लेखिने संविधान अस्वीकार गर्ने निर्णय गरेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

    सङ्ख्याका आधारमा शान्ति सम्झौताका पक्षधरलाई पेलेर संविधान जारी गरिए त्यसको सशक्त प्रतिरोध गर्ने निर्णयसमेत बैठकले गरेको उहाँको भनाइ छ ।

    संसदीय दलको बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापतिसमेत रहेका नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माण र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना