प्रधानमन्त्रीलाई नेता–कलाकार मैत्री फुटबल खेलको निमन्त्रणा

काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री सुशील कोइरालाले यही जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना हुने राजनीतिक दलका नेता र चलचित्र क्षेत्रका कलाकारबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुने वचन दिनुभएको छ । ‘नयाँ पत्रिका’ दैनिकको आयोजनामा भूकम्पपीडित नेपालीका लागि राहत सङ्कलन गर्न उद्देश्यले सो खेलको आयोजना हुन लागेको हो । “आयोजकहरुले मलाई आमन्त्रित गर्नुभएको छ , अरू नेतालाई पनि गर्नुभएको छ”, प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “म अवश्य पनि आउँछु ।”

सो अवसरमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “मुलुकमा यस्तो विपद् आइपरेको छ, हजारौँ नागरिकले जीवन गुमाउनुप¥यो, लाखौँ घरबारविहीन भएर दुःखमा बस्नु परेको छ, उहाँहरुलाई सघाउन तपाईँहरुले चाल्नुभएको कदममा मेरो समर्थन र साथ रहनेछ ।”

उहाँले यसरी सङ्कलित रकम सरकारी निकायको समन्वयमा पीडितसमक्ष पु¥याउन पनि आग्रह गर्नुभयो । “कुन ठाउँमा राहत रकम र सामग्री पर्याप्त पुगेको छ र कहाँ कम पुगेको छ भन्ने जानकारी प्रमुख जिल्ला अधिकारीलाई हुन्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “उहाँहरुसँग समन्वय गर्दा नपुगेको र कम पुगेको स्थानमा पु¥याउन सजिलो हुन्छ ।”

उहाँले विपद्का समयमा सडक यातायातको केही सुगमता भएका स्थानमा राहतको खातै खात लाग्ने र दुर्गम स्थानमा रित्तो हात हुने अवस्था आउन नदिन सरकारले एकद्वार पद्धति अबलम्बन गरेको बताउनुभयो । उहाँले राहत सङ्कलन गरी वितरण गर्न स्वतन्त्रता दिइएको तर त्यस्तो राहत अत्यावश्यक समूह र व्यक्तिसमक्ष पुग्न सकोस् भनेर राहत आवश्यक भएका स्थानको पहिचान गरी इच्छुक व्यक्ति र संस्थालाई ती क्षेत्रमा पु¥याउन स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गरिएको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको सञ्चालन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षता विभिन्न आठ मन्त्रालयका सचिव रहेको समितिले गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अन्य मुलुकमा जस्तै सम्मानका लागि प्रधानमन्त्रीको पद जोडिएको हो तर यसको सञ्चालनबारे प्रधानमन्त्रीको कुनै भूमिका नै हुँदैन ।”

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष सञ्चालक समितिले गृह मन्त्रालयको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको मागअनुरुप सो समितिलाई र सो समितिले सिधै जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा रकम पठाउने व्यवस्था गरेको छ । सो कोषमा रहेको रकमको लेखा परीक्षण समेत हुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना