• ७ वैशाख २०८१, शुक्रबार

हाम्रो सम्पदा

बुढानीलकण्ठको रुद्रेश्वर महादेव मन्दिर (फोटो फिचर)

blog

काठमाडौँ, साउन २७ गते । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका– १३ भंगालमा अवस्थित प्राचीन रुद्रेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । यो महादेवको मन्दिर बुढानीलकण्ठ जाँदा बुढानीलकण्ठ मन्दिरको अगावै दायाँतर्फको सडकबाट करिब एक किलोमिटर भित्र गएपछि बायाँतर्फ पहाडको फेदी र रुद्रमती नदीको किनारमा रहेको छ। वि.स. २०५२ सालमा मन्दिर निर्माण गरी स्थापना गरिएको हो ।

यी महादेवको उत्पत्तिको सन्दर्भमा धार्मिक ग्रन्थ शिव पुराणमा नागिनी नदी र रुद्रेश्वर महादेवको वर्णन गरिएको छ। प्राचीन किम्बदन्तीअनुसार यस ठाउँमा धेरै समयसम्म पानी नपरेको कारणले त्यहाँ अत्रि श्रृषिले तपस्या गरेको र गङ्गा प्रसन्न भई अनसूयालाई दर्शन दिई जलरुप मै शिव रहनु भएको हुँदा शिव आत्रिश्वर रूपमा रुद्रेश्वर भनी पुराणहरूमा वर्णन गरेको पाइन्छ।

मन्दिर परिसरमा कलात्मक शैलीका ढुङ्गाहरू प्रशस्तै देख्न सकिन्छ। मन्दिरको प्रमुख द्धारबाट भित्र पस्ने बित्तिकै रातो च्याप्टो ढुङ्गाको तल कालो प्रस्तरको गोलाकार आकारको सानो नै प्राचीन रुद्रेश्वर महादेव हुन्।

मन्दिरको अगाडी ठुलो त्रिशूल र बसाहा समेत रहेको छ भने मन्दिरको अगाडी भित्तामा बुद्धको मूर्ति समेत रहेको छ। मन्दिर परिसरमा दायाँ र बायाँ गणेश भगवान्, सरस्वती भगवान् लगायत विभिन्न देव, देवताहरूको मूर्तिहरू रहेका छन्। प्राकृतिक सम्पदाले भरिपूर्ण यो स्थल धार्मिक दृष्टिकोणले निकै नै महत्त्व राख्दछ।

मन्दिरका पुजारीका अनुसार यहाँ श्रृर्षि तर्पणी, बाला चर्तुदर्शी, शिवरात्रि पर्व, स्वस्थानी पूर्णिमा, श्रावणको सोमवारका साथै अन्य विभिन्न हिन्दुहरूको पर्वहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ।