• ४ वैशाख २०८१, मङ्गलबार

हातखुट्टा बाँधेर विष खुवाइयो

blog

केदार तिमल्सिना 

काभ्रेपलान्चोक, साउन २७ गते । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करिब साढे १२ बजेको समयमा स्थानीय अन्दाजी ५५ वर्षीय श्रीराम ढकाललाई रबरको ट्युबले हातखुट्टा बाँधी विष खुवाइएको अवस्थामा फेला पारिएको हो । 

मण्डनदेउपुर नगरपालिका–६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले श्रीरामकी श्रीमती सिन्धुपाल्चोक बाहुने पाटी सप्ताहमा गएको मौका छोपी अज्ञात समूहले घरमा एक्लै सुतेका श्रीरामलाई रबरको ट्युबले दुवै हातलाई पछाडि र दुवै खुट्टालाई बाँधेर विष खुवाइएको अवस्थामा फेला पारिएको बताउनुभयो । उहाँले अज्ञात समूहले श्रीरामको हातखुट्टा बाँधेर विष खुवाएपछि श्रीरामले चिच्याउँदै गुहार मागेपछि उहाँका छिमेकीले वडा अध्यक्ष ढकाललाई खबर गरेका थिए । आफूलाई खबर आएपछि केही व्यक्ति लिएर वडा अध्यक्ष ढकाल श्रीरामको घरमा पुग्दा उहाँलाई रबरले बाँधेर विष खुवाएको देखिएपछि तुरुन्तै उपचारका लागि धुलिखेल अस्पताल पठाइएको ढकाले बताउनुभयो । धुलिखेल अस्पतालमा आकस्मिक कक्षमा उपचारका लागि शय्या नभएपछि श्रीरामलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको वडा अध्यक्ष ढकालले बताउनुभयो । 

उहाँले घटनाको विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल आउँदै गरेको बताउनुभयो । घटनास्थलमा प्रहरी चौकी देउपुरको टोलीले रबरको ट्युब र त्रिकाल ५०५ नामको विषादी र बोतल बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले घटनाको अनुसन्धानको लागि प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोलीलाई घटनास्थल पठाइएको र अनुसन्धान पछि विस्तृत जानकारी आउने बताउनुभयो ।