• १४ वैशाख २०८१, शुक्रबार

कांग्रेस नेता निधि र महाराष्ट्रका विपक्षी दलका नेता अम्बादासबिच भेटघाट

blog

काठमाडौँ, साउन २७ गते । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको महाराष्ट्र प्रदेश विधान परिषद्का मुख्य प्रतिपक्षी दलका नेता अम्बादास दानवेबीच शिष्टाचार भेटवार्ता भएको छ।

निजी भ्रमणमा पशुपतिनाथको दर्शनका लागि शुक्रबार नेपाल आएका दानवे कांग्रेस नेता निधिलाई भेट्न साँझपख निधि निवास बानेश्वर पुगेका थिए। दानवे शिव सेना (उद्धव ठाकरे) पार्टीका तर्फबाट निर्वाचित विधान परिषद् सदस्य हुन्। निधिसँगको शिष्टाचार भेटमा दानवेले नेपाल भारत सम्बन्धबारे छलफल गरेका थिए। यसै गरी, काठमाडौँ र महाराष्ट्रबीचको सम्बन्धबारे पनि छलफल भएको थियो। छलफलका क्रममा दानवेले निधि र शिव सेना प्रमुख ठाकरेबीच टेलिफोनमा कुराकानी गराएका थिए। टेलिफोन कुराकानीमा ठाकरेले निधिलाई उपयुक्त समयमा मुम्बई भ्रमणको निम्ता दिएका थिए। यसै गरी, निधिले पनि ठाकरेलाई नेपाल भ्रमणका लागि निम्ता दिएका छन्।

यसअघि शुक्रबार दिउँसो दानवेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय दूतावासका तर्फबाट प्रोटोकल अफिसर धिरज सिंहले स्वागत गरेका थिए। दानवेका साथ उनकी पत्नी र शिव सेनामा आबद्ध अशोक सिंह नेपाल भ्रमणमा आएका छन्। उनी शनिबार बिहान पशुपतिनाथको दर्शन गरेपछि आइतबार फर्कने कार्यक्रम रहेको छ।