• १६ चैत २०८०, शुक्रबार

काँचो स्याउ नटिप्न किसानलाई आग्रह

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २७ गते । कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास कार्यालयले यस्तो आग्रह गरेको हो । 

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका सूर्यबहादुर शाहीले यति बेलै काँचो स्याउ टिपेर खाने तथा बिक्री गर्न सुरु भएको बताउनुभयो । उहाँले गोठी गाउँमा स्याउ राम्रै फलेका कारण स्थानीयस्तरमा बिक्री मात्र हुने नभई सर्केगार्डसम्म यातायात सेवा जोडिएका कारण जिल्लाबाहिर निकासी हुने सम्भावना पनि उत्तिकै रहेको चिन्ता व्यक्त गर्नुभयो । 

उक्त गाउँमा तीनभन्दा बढी एक सयदेखि डेढ सय बोट फलेका स्याउका फार्म रहेका छन् । उहाँले यसरी नपाकेको स्याउको प्रयोगले एकातिर स्वास्थ्यमा हानि पु-याउने अर्कातिर जिल्लाबाहिर निकासी हुँदा जिल्लाका स्याउको सन्देश राम्रो नजाने बताउनुभयो । 

यसरी काँचो स्याउ टिप्ने गोठी गाउँ मात्र नभएर दक्षिणी हुम्लाका पाँच वटा खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँ पालिकामा यो समस्या रहेको बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले काँचो स्याउ नटिप्न र बिक्री वितरण नगर्न किसानलाई आग्रह गर्नुभयो । माथिल्लो हुम्लामा स्याउ असोज अन्तिम हप्तापछि र दक्षिणी हुम्ला असोज पहिलो हप्तामा मात्र पाक्ने भएका कारण त्योभन्दा अगाडि नटिप्न उहाँले किसानलाई आग्रह गर्नुभयो । उहाँले अहिले काँचो स्याउ टिपेर बिक्री वितरण गर्दा नकारात्मक सन्देश जाने बताउँदै जिल्लाका स्याउको आफ्नै पहिचान बनाउनका लागि पनि पाक्ने समय कुर्नुपर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा सम्बन्धित गाउँपालिकाको कृषि शाखाको समेत ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।