• १६ चैत २०८०, शुक्रबार

साउदीबाट चार नेपाली महिलाको उद्धार

blog

काठमाडौँ, साउन २६ गते । साउदीमा रहेको नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु-याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ । दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो । 

दूतावासका अनुसार कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पु-याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेन्टले उहाँहरूलाई साउदी अरब पु-याएर सात महिनासम्म बिनातलब घरमा काम लगाएको सूचनाका आधारमा दूतावासले साउदी प्रहरीको सहयोग लिएर उद्धार गरी अल्पकालीन आवासमा राखेको थियो । 

दूतावासका अनुसार साउदीमा उनीहरूलाई झन्डै सात महिनासम्म घरमालिकले बिनातलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ । 

तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित आवासीय सेवा दिइएको थियो । यसबिचमा दूतावासले साउदीको घरेलु श्रमिक कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीका लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो । 

बहिर्गमन भिसामा उनीहरूलाई हिमालय एयरलाइन्समार्फत दूतावासले बुधबार नेपाल फर्काएको छ । उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको दूतावासले जानकारी दिएको छ । दूतावासले पछिल्लो समय कागजातविहीन भएर साउदीमा घरेलु काममा आउने महिलाको सङ्ख्या बढेकाले त्यसप्रति सचेत गराउन सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ ।