• ६ वैशाख २०८१, बिहिबार

बसको रङ कायमपछि नयाँ रुट इजाजत

blog

ब्लुबुक अनुसार रङ परिवर्तन गरिएको ब्लु बस । तस्बिर : गाेरखापत्र

वसन्त पराजुली

भरतपुर, साउन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ। 

यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो। कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ। 

“बसले बिलबुक र प्राविधिक जाँच पासबुकमा भरिएको रङ अनुसार कायम गरेर आएपछि हामीले रुट इजाजत पनि परिवर्तन गरिदिएका छौँ,” अधिकृत चपाईले थप्नुभयो, “अब गाडीको रुट कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम भएको छ।”

सांसद लामिछाने निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गते घोषणा भएको कार्यक्रममध्येको एक चितवन २ का महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन भएको हो। बस सञ्चालनका क्रममा रुट अनुमति र रङका बारेमा समस्या रहेको समाचार गोरखापत्रले सार्वजनिक गरेपछि यसको आलोचना सुरु भएको थियो। बसधनी भीमबहादुर तामाङले आफूहरूले नबुझेर नै समस्यामा परेको बताउनुभयो। 

“बसको रुट अनुमति वीरगन्जदेखि नारायणगढ–पोखरा–बागलुङ थियो तर हामीले चितवनको भित्री सडकमा चलाउँदा समस्या हुँदैन होला भन्ने सोचेका थियौँ,” उहाँले भन्नुभयो। रङका सवालमा पनि बिलबुकमा भए अनुसार आफूहरूले परिवर्तन गरेको उहाँले जनाउनुभयो। 

“बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ। बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,” उहाँले भन्नुभयो। यसअघि बसलाई पूरै नीलो बनाइएको थियो। नीलो मात्रै सञ्चालन गर्न नदिने अडान यातायात कार्यालयले राखेपछि बाध्य भएर रङ परिवर्तन गरिएको हो। 

बसधनी तामाङले बसको रुट इजाजत परिवर्तन गर्न गत सोमबार २२ गते निवेदन दिनुभएको थियो। निवेदनलाई कार्यालयले १४ नम्बरमा दर्ता गरेको थियो। कार्यालयले रुट परमिट परिवर्तन गरे पनि रास्वपाले अहिले सञ्चालनमा ल्याइरहेको नारायणगढभन्दा पश्चिम शिवघाटसम्मको रुटमा भने बस सञ्चालन गर्न नपाइने देखिएको छ। यो नयाँ परिवर्तित रुटले नारायणगढभन्दा पश्चिममा नदिएको बताइन्छ। 

रास्वपाले घोषणा गरेको कार्यक्रम अनुसारको एम्बुलेन्स मोबाइल क्लिनिक फिर्ता लिइसकेको छ भने नारायणगढ–मुग्लिन सडकमा झरेको पहिरो पन्छाउन खटिएका र्‍यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ। 

वाकीटकी प्रयोगको अनुसन्धान गरिने

जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएसँगै र्‍यापिड एक्सन टिम (आरएटी) ले प्रयोगमा ल्याएको वाकीटकीको वैधानिकता अध्ययन गर्न जिल्ला प्रहरी कार्यालय चितवनलाई निर्देशन दिएको थियो तर प्रहरी भने त्यसको अनुसन्धान कसले गर्ने भन्नेमै अन्योलमा देखिन्छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले त्यसको अनुसन्धान कसले गर्ने भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताउनुभयो। 

“त्यो वाकीटकी बोकेका व्यक्तिलाई प्रहरीले भेटेको छैन। पहिरो पन्छाएका ठाउँमा पनि पहिरो पन्छाएर प्रहरी हिँडिसकेपछि पुगेका देखिन्छन्। हामी (प्रहरी) ले त सामाजिक सञ्जालमा देखेरै थाहा पाएका हौँ,” उहाँले भन्नुभयो। उहाँले त्यो वाकीटकी फेला पार्न सकिए अनुमति भए वा नभएको थाहा हुने तर अहिलेसम्म फेला नपरेको जानकारी दिनुभयो। 

यसअघि सूचना तथा प्रसारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले रास्वपाले वाकीटकी प्रयोगका लागि अहिलेसम्म अनुमति नलिएको बताइसक्नुभएको छ। रास्वपाका अध्यक्ष रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिक्देलले वाकीटकीको अनुमति भएको दाबी गर्नुभयो। “वाकीटकी प्रयोगको अनुमति छ, म बाहिर भएकाले प्रमाणपत्र तपाईंलाई देखाउन सकिनँ,” उहाँले भन्नुभयो।