किसानको साथी गाइने किरा सङ्कटमा


चाँदनी हमाल

काठमाडौँ, साउन २९ गते । पानीका स्रोत र मुहान प्रदूषित हुँदा दुर्लभ गाइने किरा सङ्कटमा परेको छ । विशेषगरी काठमाडौँ उपत्यकाको उत्तरी भेग र नेपालको पूर्वी भेगमा पाइने ‘रिलिक्ट हिमालयन ड्र्यागनफ्लार्ई’ नामक गाइने किरा सङ्कटमा परेको हो ।
“कालो शरीरमा पहँेला थोप्ला र सुनौला पखेटा भएको यो दुर्लभ किरा हो तर पानी दूषित हुँदै जाँदा सङ्कटमा परेको छ,” अध्ययनकर्ता भैया खनालले भन्नुभयो, “यो किरा प्रदूषणको सिकार भएको हो । ” शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको अमूल्य सम्पत्ति भए पनि यसको संरक्षण र अध्ययनमा त्यति ध्यान नगएको उहाँ सुनाउनुहुन्छ ।
स्वच्छ पानीमा हुर्कने यस जीवको अस्तित्वमा मानव उत्पादित फोहोरले असर पारेको खनालले बताउनुभयो । “नदीमा सीधै फ्याँकिने मानवनिर्मित ढल र फोहोरका कारण नदी प्रदूषित भएसँगै मुहानसमेत प्रदूषित हुन थालेकाले यसको प्रजननसँगै हुर्काइमा सीधा असर परेको छ,” खनालको विश्लेषण छ । पानी प्रदूषित भएकै कारण किरा सफा पानीको खोजी गर्दै अन्यत्र पलायन हुन्छ । यतिमात्र होइन, बढ्दो मानव जनसङ्ख्याको चाप, वन अतिक्रमण, माटोको गुणस्तरमा ह्रास, सहरीकरण, धुलो र धुवाँले यसको बासस्थानमा असर गर्दै गएकाले संरक्षणका लागि थप अध्ययन र सचेतना जरुरी रहेको खनालको भनाइ छ ।
वातावरणविद्का अनुसार पोथी ड्र्यागनफ्लाईले पानी नजिकका बिरुवामा फुल पार्छ र फुलबाट बच्चा निस्केपछि सोझै पानीमा झरेपछि थप विकास हुन्छ । करिब छ वर्षको हुर्काइमा झन्डै चार–पाँच वर्ष यसले पानीमा बिताउँछ । हुर्किएको लार्भा बिरुवाको पातमा बस्छ र केही समयमा ड्र्यागनफ्लाई बनेर उड्छ । “हुकाईको समय लामो भए पनि वयष्क भएपछि भने यो जम्मा दुई महिना बाँच्छ, अहिलेको समय वयष्क ड्र्यागनफ्लाई देखिने समय हो,”
खनालले थप्नुभयो ।
खनालका अनुसार कुलोपानीको छेउ रमाउने एक उपजाति ड्यामसोनफ्लाई ड्र्यागनफ्लाई जस्तै देखिन्छ । त्यसको शरीर झिनो मसिनो हुन्छ तर ड्र्यागनफ्लार्ईको शरीर उसको तुलनामा मोटो हुन्छ । ढाडमा पखेटा राखेर सुस्ताउने बानी उस्तै भए पनि पखेटाको बनोट फरक हुन्छ । ड्यामसोनफ्लाईको पखेटा फेदमा साँघुरो हुँदै माथि फराकिलो हुन्छ तर ड्र्यागनफ्लाईको पखेटा तल फराकिलो हुँदै माथि साँघुरो बन्दै गएको हुन्छ ।

इतिहास र अस्तित्व
यसको इतिहास डायनोसरको युगदेखि हालसम्म कायम रहेको अनुसन्धानकर्मी अनुमान गर्छन् तर भेटिएका अवशेषको उचित अध्ययन हुन नसकेको विज्ञ खनालले बताउनुभयो ।
अन्तर्राष्ट्रिय एकीकृत प्रकृति संरक्षण सङ्घका अनुसार शिवपुरीस्थित बाग्मतीको छेउमा पहिलोपल्ट यसको अस्तित्व फेला परेको हो । सन् १९९० ताका जापानी अनुसन्धानकर्मी आसाहिनाले यसको अस्तित्व नेपालमा पत्ता लगाएका थिए ।
यो गाइने किरा रिलिक्ट हिमालयन ड्र्यागनफ्लार्ईका नामले चिनिन्छ । यसको वैज्ञानिक नाम इपिओफेलबिया लेड ल भनेर नामकरण भने अध्यता आर.जे. टिलियार्सले गर्नुभएको थियो । जापानमा नेपालको जस्तै देखिने ड्र्यागनफ्लार्ईको नाम भने इपिओफेलबिया सुपरस्टिस हो ।
शिवपुरीमा रिसोर्ट र केबुलकार बनाउँदा दुर्लभ जीवको अस्तित्व सङ्कटमा पर्ने विज्ञ डा. तीर्थबहादुर श्रेष्ठले बताउनुभयो । हिमाल छोएका क्षेत्रको एक हजार आठ सय मिटरदेखि तीन हजार पाँच सय मिटर उचाइसम्म यसको अस्तित्व रहने सन् २०११ मा भएको एक अध्ययनले देखाएको छ ।
हास्को नासेमन, रामदेवी ताछमो शाह र दीपनारायण शाहले नेपालका विभिन्न क्षेत्र र भारतको पूर्वी क्षेत्रमा विभिन्न प्रजातिको अध्ययन गर्नुभएको थियो । विभिन्न गाइने किराको जविनपद्धतिको अध्ययनसँगै सो अध्ययनले रिलिट हिमालयन ड्र्यागनफ्लार्ई इतिहासको जीवित अवशेष भनेर इङ्गित गरिएको छ ।

किसानको साथी
किसानको साथी भनेर चिनिने यस गाइने किराले बाली विनाश गर्ने साना किरा खान्छ । जसका कारण बाली सकुशल रहन सघाउँछ तर अचेल किसानले बालीमा लाग्ने किरा मार्न विषादी अधिक प्रयोग गर्न थालेकाले यसको आहारमा समेत असर परेको विज्ञ खनालले बताउनुभयो ।
उहाँका अनुसार सफा पानीको सूचक मानिने गाइने किराले खेतबारीको पानीलाई समेत शुद्ध राखेर सघाउने गर्छ तर पानीमा फोहोर बढेपछि लार्भा नै सङ्कटमा पर्दा यसको सङ्ख्यात्मक बढोत्तरीमा असर परेको उहाँले औँल्याउनुभयो ।
आईयूसीएनले सन् १९८३, १९८६, १९८८, १९९० र १९९४ सम्म लगातार असुरक्षित जीवको सूचीमा राखेको थियो । त्यसयता भुटानमा समेत देखा परेपछि भने यो असुरक्षाको नजिकमा रहेको जीवको सूचीमा राखिएको छ । नेपालमा यसको सङ्ख्या करिब दुई सयको हाराहारीमा रहेको अनुमान छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना