• ११ वैशाख २०८१, मङ्गलबार

संसदीय दलको बैठकको एजेण्डा तय गर्न कांग्रेस नेता छलफलमा

blog

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक ।

काठमाडौं, साउन २५ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठक अघि नेताहरू पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराही छलफलमा जुटेका छन् । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार दिउँसो १ बजे बस्ने बैठकको एजेण्डा तय एवम् पूर्व तयारीका लागि कांग्रेस संसदीय दलको कार्य समितिको बैठक बसेको जानकारी दिनुभयो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले भन्नुभयो, “कांग्रेस संसदीय दलको बैठक भोलि १ बजे बस्दैछ । भोलि छलफल गर्ने एजेण्डा र पूर्व तयारीको सन्दर्भमा आज बैठक बसेको हो ।”

सञ्चारकर्मीको कांग्रेस नेता सुनिल शर्मा प्रहरीको नियन्त्रणमा भन्ने जिज्ञासामा उहाँले यसको आधिकारिक जानकारी लिएर कांग्रेसले धारणा व्यक्त गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँलाई पनि पक्राउ गरेको सन्दर्भमा जानकारी लिइरहेका छौँ । किन, कसरी पक्राउ गरेको थाहा पाएपछि आफ्नो धारणा राख्छौँ । संसद् चलिरहेको बेलामा कुनै पनि माननीयलाई पक्राउ गरेको छ भने यसको तत्काल सभामुखलाई जानकारी दिनुपर्ने हुन्छ । सभामुखलाई जानकारी दिइएको छ कि छैन त्यो पनि हेरिरहेका छौँ ।” यस विषयमा सभामुखबाट आधिकारिक जानकारी लिइने उहाँको भनाइ छ । 

उहाँले आजको बैठकमा नियमित संसद् अवरोधका बारेमा कांग्रेस सङ्घीय सदनमा कसरी प्रभावकारी रूपमा प्रस्तुत हुने, आर्थिक वर्ष २०८०/८१ को बजेट प्रभावकारी कार्यान्वयन, सदनमा विचाराधीन विधेयक लगायतका विषय संसदीय दलको बैठकका लागि एजेण्डा तय गरिएको बताउनुभयो ।