• ७ वैशाख २०८१, शुक्रबार

लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण

blog

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गर्दै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन २५ गते । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले पदभार ग्रहण गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले आज पदभारग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो ।

उहाँलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गर्नुभयो ।

उपाध्यक्ष लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किमी दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गर्नुभयो ।

पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनीजस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताउनुभयो ।

आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताउनुभयो ।

उहाँले बुद्ध जन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने धारणा राख्नुभयो । आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने उहाँको भनाइ छ । 

‘मान्छे हो, कहिलेकाहीँ बुझाइमा समस्या हुन सक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्ने छैन’ उहाँले भन्नुभयो ।

उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्त्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताउनुभयो ।

लुम्बिनीलाई पवित्रस्थलका रूपमा परिचित बनाउनेगरी काम गर्न पदाधिकारी, कर्मचारी, स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्ध दर्शमा विद्यावारिधि गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रूपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने चर्चा गर्नुभयो । 

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठुलो रहेको र सीमित स्रोत साधनबाट काम भइरहेकाले अब बाँकी कामहरू नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास व्यक्त गर्नुभयो । लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारीसहित बोर्ड सदस्य, परिषद् सदस्य, कर्मचारी र केही स्थानीयको समेत उपस्थिति रहेको थियो ।

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी) को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षका रूपमा नियुक्त गरेको छ । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।