• १६ चैत २०८०, शुक्रबार

एसिया कपको तयारी पाकिस्तानमा

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन २५ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई एसिया कपअघि नेपाली टोलीलाई पाकिस्तानमा अभ्यासको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । क्यानको अनुरोधमा पीसीबीले नेपाललाई तयारीको अवसर दिएको हो । 

नेपाली टोली भदौ ५ गते पाकिस्तान जाने र ९ गतेसम्म कराँचीमा प्रशिक्षणसहित केही अभ्यास खेल पनि खेल्ने बताइएको छ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । 

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।