• ८ वैशाख २०८१, शनिबार

डोजर कपन पुग्दा विवाद, स्थानीयवासी महानगरकै पक्षमा

blog

कपन क्षेत्रमा महानगरपालिकाको डोजर पुगेपछि देखिएको दृश्य । तस्बिर : अशोक अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । कपनमा यज्ञमती र चखुँचाखोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौँ महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो ।

काठमाडौँ महानगरपालिका–१० र बुढानीलकण्ठ नगरपालिका–७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछाडी खोला मिचेको पाइएकाले महानगर सो स्थानको संरचना भत्काउन पुगेको थियो ।


तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयहरूको भनाइ छ । उनीहरूले महानगरले गरेको काम राम्रो भएको र यज्ञमती र चखुँचाखोला मिचेर बनाइएका संरचनाहरू भत्काउनुपर्ने धारणा राखेका छन् । 

यता बुढानीलकण्ठ नगरपालिका–१० का अध्यक्ष नवराज भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिई काठमाडौँ महानगरपालिका दलबलसहित फिल्डमा आएको बताउनुभयो । उहाँले चोर बाटोबाट गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने गुनासो गर्नुभयो ।  

त्यस्तै, काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताउनुभयो । उहाँले बुढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको बताउनुभयो ।

स्थानीयहरूले भने बुढानीलकण्ठ नगरपालिकाले यज्ञमती र चखुँचाखोलाको संरचना मिचेर घरहरू बनाउन दिएकाले भत्काउनुपर्ने बताएका छन् । मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ ।  भूमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको उहाँहरूको भनाइ छ । 


खोला मिचेर संरचना बनाउनेहरूले मात्रै महानगरको विरोध गरिरहेको बताउनुभयो । बालबालिकालाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको स्थानीयको गुनासो छ । अवैधरुपमा बनाइएका संरचना भत्काउनुपर्ने स्थानीयको भनाइपछि महानगरलाई स्थानीयको सहयोग पुग्नेभएको छ ।