• १६ चैत २०८०, शुक्रबार

नदीमा दाउरा निकाल्न गएका व्यक्तिको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, साउन २५ गते । कैलालीको खुटिया नदीमा दाउरा निकाल्न गएका एक व्यक्तिको मृत्यु भएको छ । गोदावरी नगरपालिका –९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको मृत्यु भएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार खोलाबाट दाउरा निकाल्ने भनेर उहाँ हिजो खुटिया नदीमा जानुभएको थियो । फर्केर नआएपछि आफन्तले आज प्रहरीलाई जानकारी गराएका थिए । जानकारीपश्चात् खोजीकार्य गर्ने क्रममा जमेको पानीमा भट्टराको शव भेटिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

हजारौं परिवार प्रभावित

केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले कैलालीमा साढे तीन हजार परिवार प्रभावित भएका छन् । विभिन्न नदी र खोलानालामा आएको बाढीका कारण सात पालिकाका परिवार प्रभावित भएका हुन् । 

बाढीका कारण जिल्लाभरि प्रभावित हुने परिवारको सङ्ख्या तीन हजार ४१३ पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रभावितमध्ये करिब अढाइसय परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । विस्थापितहरु हुलाकी राजमार्गमा त्रिपालमुनि, विद्यालय र सुरक्षित भवनमा बसिरहेको जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी दुई हजार ३४२ घरपरिवार भजनीमा प्रभावित भएका छन् । सो नगरपालिकाको अधिकांश भूभाग तीन दिनदेखि जलमग्न छ । टीकापुर नगरपालिकामा ३८१, जानकी गाउँपालिकामा २७५, जोशीपुर गाउँपालिकामा २१० परिवार प्रभावित भएका छन् । यसैगरी, कैलारी गाउँपालिकामा १५५, धनगढी उपमहानगरपालिकामा ४३ र गोदावरी नगरपालिकामा सात परिवार प्रभावित भएको जनाइएको छ । 

सोमबार रातिबाट भइरहेको अविरल वर्षाका कारण कैलाली भएर बग्ने मोहना, खुटिया, कान्द्रा, काँढा, पथरैया, कटैनी, घुरहालगायतका सबै नदी र खोलानालामा बाढी आएको छ । पानी अझै पर्दै गइरहेकाले प्रभावितलाई झनै समस्या थपिँदै गएको छ भने विस्थापितहरु बिचल्लीमा परेका छन् ।