लगानीका लागि उर्बर मुलुक (सम्पादकीय)

gopa 1नेपालले अवलम्बन गरेको आर्थिक कूटनीति विश्व परिदृश्यमा फलदायी बन्दै गएको परिणाम देखिन थालेको छ । वर्तमान सरकारले प्राथमिकताका साथ अघि बढाएको लगानी नीति तथा आर्थिक कूटनीतिका माध्यमबाट लगानीमैत्री वातावरण निर्माण गर्ने मुलुकहरूमा नेपाल अग्रपङ्क्तिमा देखिएको छ । विश्वभर वैदेशिक लगानी प्रवद्र्धनका लागि भइरहेको प्रयासमा विश्वव्यापी रूपमा बैङ्किङ विस्तार, पुँजीबजार लगानी, विदेशी विनिमय, क्षेत्रीय बजारलगायतको नियमित अध्ययन तथा सूचना प्रकाशन गर्ने संस्था युरोमनीले विश्वका एक सय ८६ राष्ट्रको सर्वेक्षण गरेकोमा नेपाललाई लगानी वातावरण सुधार गर्ने पहिलो नम्बरमा देखाइएको छ । सन् २०१९ को जनवरीदेखि जुनसम्म छ महिनाको अध्ययनका आधारमा तयार पारिएको ‘युरोमनी रिक्स सर्भे’ मा नेपालले उत्कृष्ट अङ्क प्राप्त गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
युरोमनीको उक्त अध्ययन प्रतिवेदनमा विश्वकै सर्वोच्च शिखरको देश भनेर चिनिने नेपाल यसपटक जोखिमको विस्तृत सर्वेक्षण गर्दा लगानीमैत्री वातावरण तीव्ररूपमा सुधार गर्ने देशको सूचीमा समेत सर्वोच्च बनेको उल्लेख छ । यसले समृद्धिको हुटहुटीमा रहेका तर यहाँ कसैले पनि सुधार नगर्ने भए भन्ने निराशापूर्ण भ्रमको प्रचारमा निसास्सिएका जनतालाई सकारात्मक सन्देश दिएको छ । यससँगै लगानीका लागि नेपाल झन् सुरक्षित बन्दै गएको र विगतमा बेवास्ता गरिएका तर महŒवपूर्ण क्षेत्रमा नयाँ अवसर खोलिरहेको उल्लेख प्रतिवेदनमा हुनुले विश्वका लगानीकर्तालाई नयाँ लगानी गन्तव्य नेपाल हो भन्ने विश्वास दिलाएको छ । सुधारका आधारमा लगानीको उपयुक्त वातावरण भएका मुलुकको सूचीमा गतवर्षभन्दा १४ स्थान माथि उक्लन सफल हुनुुले दृढ विश्वास र समर्पित भावनाले प्रयास गरेमा हाम्रा लक्ष्यहरु हात पार्न धेरै कठिन हुनेछैन भन्ने पनि पुष्टि भएको छ । नेपालको राजनीतिक, आर्थिक तथा संरचनागत क्षेत्रका जोखिमहरूको मूल्याङ्कन गर्दा लगानीमैत्री वातावरणमा तीव्र गतिले सुधार आएको पाइएको हो । नेपालले हासिल गरिरहेको आर्थिक वृद्धि, सङ्घीयताको संस्थागत विकास र न्यूनदरमा रहेको मुद्रास्फीतिलाई पनि केलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमञ्चमा सहभागी हुँदा होस् अथवा मैत्रीपूर्ण भ्रमणका अवसरमा होस्, नेपालमा लगानी गर्नका लागि कुनै किसिमको असजिलो नमान्न र सरकारका तर्फबाट जस्तोसुकै वातावरण तयार पार्न आफू तत्पर रहेको बताउँदै आउनुभएको छ । समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्नका लागि दर्जनौँ रचनात्मक योजना अगाडि सार्नुभएका उहाँले यस्ता योजनाहरूमा ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गर्दै आउनुभएको छ । यही सिलसिलामा सरकारले लगानी आह्वान गर्दै आर्थिक कूटनीतिलाई प्राथमिकतासाथ अगाडि बढाउन थालेको छ । परराष्ट्र मन्त्रालयले अबको हरेक कूटनीतिक भेटघाट, वार्ता र छलफलमा राष्ट्रिय आर्थिक हितलाई जोड दिने र रणनीतिकै आधारमा वार्षिक कार्य योजनासमेत सञ्चालन गर्ने तयारी गरिरहेको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन पर्यटनमा विशेष अवसर र लगानीलाई थप जोड दिएको छ । आर्थिक कूटनीतिसँगै पर्यटन प्रवद्र्धनलाई पनि जोडेर सरकारले विश्वसामु नेपालको वस्तुस्थिति खुलारूपमा प्रस्तुत गर्न सकेका कारण पनि नेपालमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह हुन सकेको हो ।
नेपालले विगत केही समयदेखि लगानीमैत्री वातावरण सिर्जना गर्न लगानी सम्मेलनहरू गर्दै आएको भए पनि गत चैतमा काठमाडौँमा आयोजित बृहत् लगानी सम्मेलन विशेष महŒवपूर्ण सावित भएको छ । दश महŒवपूर्ण लगानी क्षेत्र– विद्युत्, यातायात, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि, प्राकृतिक स्रोत, स्वास्थ्य र शिक्षा तथा दूरसञ्चारलाई प्राथमिकतामा राखेर यो सम्मेलन गरिएको थियो । सम्मेलनकै तयारीक्रममा ठूलो लगानी प्रक्रिया एकद्वार प्रणालीमा लैजानेलगायत सहजीकरणका ऐन, नीतिहरु तर्जुमा गरियो । सम्मेलनमा अभिव्यक्ति लगानीकर्ताको चाहना सम्बोधन गर्दै थप नीतिगत, राजनीतिक अनुकूलता प्रवद्र्धन गर्न सरकार क्रियाशील भयो । तदनुरूप नै मौद्रिक नीतिसमेत आएको छ । यस्ता अनुकूलताले अब नेपालमा लगानीको उपयुक्त वातावरण बनेको यथार्थ युरोमनीको सर्वेक्षण प्रतिवेदनले देखाएको हो । तर यही नै सन्तोष मानेर बस्ने अवस्था होइन । अझै पनि कमजोर खर्च क्षमता, मौद्रिक तरलता, दक्ष जनशक्तिको अभाव जस्ता समस्या छन् । यस्ता समस्यालगायत लगानीका लागि रहेका थप जोखिमको विश्लेषण गरी तिनको न्यूनीकरणमा सरकार, निजीक्षेत्र र आम नागरिकको सहकार्य, समर्थन अपरिहार्य छ । अध्ययन प्रतिवेदनले देखाइदिएको सकारात्मक रेखाचित्रलाई व्यवहारमा उतार्नका लागि राजनीतिक नेतृत्वको इच्छाशक्तिलाई प्रशासनिक, आर्थिक, कूटनीतिक क्षेत्रले साथ दिनुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds