युवा राष्ट्रका मेरुदण्ड


puspa and dadhiram

पुष्प लामा
दधिराम खतिवडा

 

नेपालको कुल जनसङ्ख्याको ४० दशमलव ३ प्रतिशत हिस्सा ओगटेको साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासी दस्ता युवा हो । जोस जाँगरले सशक्त, विकासको मूल फुटाउने शक्ति एवं सामाजिक–राजनीतिक–आर्थिक रूपान्तरणको प्रमुख स्रोत हो यो । विभिन्न राष्ट्रमा फरक फरक उमेर समूहलाई युवा मानिएको छ । नेपालको राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेरलाई युवा परिभाषित गरेको छ ।
शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवाशक्ति विकास गरी यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवा देशको सामाजिक एवं आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा पुग्नेछन् । युवा सहभागिताका लागि राष्ट्रिय युवा नीति, २०७२, युवा दूरदृष्टि २०२५, १० वर्षीय रणनीतिक योजना, एवं राष्ट्रिय युवा परिषद्समेत गठन गरिएको छ । तर दुर्भाग्य, उक्त युवा लक्षित कार्यक्रम, नीति तथा योजनाहरू व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । स्वयं युवा नै यसप्रति अनभिज्ञ छन् । यसको फाइदा टाठाबाठा र स्रोतसाधनमा पहुँच भएकाहरूले नै उठाइरहेका छन् ।
राष्ट्रको पहरेदार
स्वस्थ तथा अनुशासित नागरिक समाजको सिर्जना गर्न युवाशक्ति प्रमुख आधारको रूपमा लिइन्छ । राष्ट्रको प्रतिष्ठा वृद्धि, विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवं समुदायबीच शान्ति र एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन युवावर्गलाई विश्वव्यापी मूल्य मान्यता र मापदण्डअनुसार साङ्गठनिक सङ्घीय ढाँचामा रूपान्तरण गर्नुपर्ने देखिन्छ । युवाको माध्यमबाट समाजमा मानसिक, बौद्धिक र नैतिकवान् मानव संसाधनको विकास गरी अनुशासित, मर्यादित र शान्तिपूर्ण समाज निर्माण गर्नु छ । युवालाई रोजगारमूलक कृषि, पर्यटन, औद्योगिक उत्पादन व्यवसायमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै विशेष कार्यक्रम सञ्चालन गरी ‘युवा राष्ट्रको पहरेदार’ भन्ने अभियानलाई साकार पार्न युवासँग सम्बन्धित पूर्वाधार निर्माण, आवश्यक प्रशिक्षण, सशक्तीकरण र प्रोत्साहनका कार्यक्रमहरू कार्यान्वयन पक्ष फितलो छ ।
परिवर्तनका लागि नयाँ सोच, ऊर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूको सम्मिश्रण चाहिन्छ । युवा पुरानाभन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् । यस अर्थमा युवाशक्ति अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुवै हुन् ।
अरबमा खर्ब कमाउने सपना
विगतमा युवामार्फत वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुगेको सत्य हो । सरकार र राष्ट्रिय राजनीतिमा स्थापित पार्टीहरूले एकातिर स्वदेशमै युवा लक्षित रचनात्मक कार्यक्रम घोषणा गर्ने, अर्कातर्फ नयाँ गन्तव्य देशहरूसँग शिक्षा र रोजगारका नाममा श्रम सम्झौता गरी ‘अरबमा खर्ब कमाउने’ सपना देखाउने, युवामाझ लोकप्रिय बन्दै विभिन्न देशका राजदूतावासमा राहदानी बुझाउन लगाउने, मुलुक र सत्ता अदक्ष वयोवृद्धहरूले चलाउने परम्परा खेदजनक छ ।
सक्षम र दक्ष युवालाई स्वदेशमै उत्पादनमूलक आर्थिक क्षेत्रमा व्यवस्थापन गर्ने कि नगर्ने ? अग्रस्थानमा होमिएर सामाजिक, सांस्कृतिक आर्थिक रूपान्तरणमा केन्द्रीय भूमिका निर्वाह गर्ने शक्ति युवा हुन् । अहिले पनि शैक्षिक क्षेत्रमा, बैङ्क वित्तीय सेवामा, सामाजिक तथा राजनीतिक तहमा, राष्ट्रिय अन्तर्राष्ट्रिय शान्तिसुरक्षाका क्षेत्रमा, सूचना, विज्ञान प्रविधि, विकास निर्माण, स्वास्थ्य, खेलकुद, पर्यटन, आरोहण लगायतका विधामा युवाको सक्रिय योगदान छ । केही नेपाली युवा चर्चित छन् । यिनलाई निर्णायक तहमा अवसर प्रदान गर्ने हो भने द्रुुततर परिवर्तनको सम्भावना देखिन्छ ।
युवा नेतृत्व
अन्तर्राष्ट्रिय परिवेशलाई नियाल्दा पछिल्लो समय व्यापक चर्चामा रहेका ३२ वर्षे युवा किम जोङले उत्तर कोरियाको सानो मुलुकलबाट विश्व हल्लाउँदै हुनुहुन्छ । ३९ वर्षीय इमानुएल म्याक्रोनले फ्रान्सको राष्ट्रपति भएर औद्योगिक क्रान्ति गरी देशलाई अझ माथि उकास्न लागिपर्नुभएको छ । मलेसियाका २५ वर्षीय सइद सिद्दिक रहमानले युवा तथा खेलकुद मन्त्रालय हाँकिरहनुभएको छ ।
भोलोडायमर ग्रोएजमेनले ३३ वर्षको उमेरमा युक्रेनलाई विकासको मार्गतर्फ गति दिनुभएको छ । जुरी रेक्टस् ३८ वर्षमा होउची मिलिटेन्सका राजनीतिक रूपले विख्यात बन्नुभयो । एमिल दिमित्रिभ ३८ वर्षमै म्यासेडोनाका प्रधानमन्त्री बनेर देशमा हजारौँ रोजगारीका अवसर सिर्जना गरी गरिब जनतालाई सामन्तवादको घेराबाट बाहिर निकाल्नुभयो । अस्ट्रिया जस्तो विकासमा पछाडि रहेको मुलुकमा ३१ वर्षीय सेवास्टिन क्रुज प्रधानमन्त्री बनेर देशलाई अशिक्षा, भोकमरी र सामाजिक विभेदको अँध्यारोबाट बाहिर निकाल्नुभयो । अनि शेख तमिमले ३६ वर्षको उमेरमा कतारलाई युरोपियन देशहरूको हाराहारीमा पु¥याएर विश्वलाई नै अचम्मित पार्नुभएको छ ।
यी ठिटाहरूमा कुनै जेल बसेको अनुभव छैन न त राजनीतिको लामो बुझाइ र अनुभव नै छ । उनीहरूमा छ त केवल देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने तीव्र चाहना, सम्बन्धित विषयको गहिरो ज्ञान र निःस्वार्थ नेतृत्वको भावना । विषयवस्तुको तात्पर्य के हो भने खालि अवसर र पद प्राप्तिका निम्ति कुर्सीमै लिप्त हुन खोज्ने अग्रजजनको एकाधिकारवाद र नेतृत्व युवापुस्तामा हस्तान्तरण नचाहनुले मुलुकले युवाबाट अपेक्षित लाभ पाएको छैन । पुरानो पुस्ताको प्रेरणाका साथ नयाँ पुस्तालाई सकेसम्म समावेशीकरण र सहभागिताका आधारमा अगाडि बढ्न प्रेरित गर्नुपर्छ ।
समाज र देशका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्छ, समाजप्रति इमानदार गतिशील र साहसिक तवरले आर्थिक र सामाजिक रूपान्तरणका लागि बलियो खम्बा बनुन् भन्ने मानसिकता पुरानो पुस्तामा पलाउनु जरुरी छ । युवा सहभागिताबिना राष्ट्रको विकास असम्भव छ । युवा श्रम, सीप र विवेकलाई सही रूपले परिचालन गर्ने हो भने अर्थतन्त्र र दिगो विकासलाई संस्थागत गर्न त्यति जटिल छैन ।
युवा सहभागिता
वर्तमान सङ्घीयता अर्थात् विकेन्द्रीकृत शासन प्रणालीमा अभ्यासरत, स्थानीय तहमा भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभाव कायमै छ । युवावर्गको अभावमा स्थानीय निकायको सार्वजानिक सेवा प्रवाह सुस्त छ । युवा नेतृत्वलाई सल्लाहकारका रूपमा बलियो उपस्थिति बनाउनुपर्ने तत्कालको आवश्यकता छ ।
युवा वर्तमानका साझेदार हुन् । युवाको क्षमता अभिवृद्धि सशक्तीकरणका माध्यमबाट देशको परिवर्तन र विकास सम्भव छ । शिक्षा स्वास्थ्य, रोजगार युवाका मौलिक अधिकार हुन् । सामाजिक सांस्कृतिक, आर्थिक राजनीतिक हरेक क्षेत्रमा युवाको सहभागिता सुनिश्चित हुनसके मात्र दिगोपन रहन सक्छ । समुन्नत र समृद्ध राष्ट्रका लागि योगदान दिनुपर्ने युवा बेरोजगारी, अशिक्षा, आर्थिक अभाव, मानसिक तनाव जस्ता कारण देश विकासको मूलप्रवाहमा आउन सकिरहेका छैनन् ।
दिगो विकासका लागि युवा
‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ मन्त्रका साथ नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर पर्यटन नेपाल भ्रमण वर्ष २०२०, अण्डर ५० लैङ्गिक समानता, दिगो विकास लक्ष्यहरू, युवा नेतृत्व र युवा उद्यमशीलता विषयमा देशभरका युवा सहभागिताका साथ सम्मेलनको आयोजना गरेको छ । उक्त कार्यक्रमले युवा सुदृढीकरण, नेतृत्व विकास, सामाजिक सहभागिता र रूपान्तरणमा बल पुग्ने देखिन्छ ।
विकास मूल प्रवाहीकरणको मेरुदण्ड युवा भएकाले सामाजिक सहभागिता, नेतृत्व सशक्तीकरण अनिवार्य तत्व हुन् । सुशासन, पारदर्शिता र विधिको शासनका लागि युवाको खबरदारी सदासर्वदा आवश्यक रहन्छ, जहाँ आवाज कमजोर हुन्छ विकास ठप्प भयो, परिवर्तन ठप्प भयो । यसकारण पनि परिवर्तनका संवाहक युवाको भूमिका अनन्त छ । युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाको कुशल काँधमा छ । राष्ट्रिय युवा नीति, २०७२ को प्रभावकारी कार्यान्वयन गर्दै युवा देशको सामाजिक आर्थिक रूपान्तरण र सशक्तीकरणमा समाहित हुनुपर्ने भएको छ ।
विगतमा युवाका आवाज सडकमा सीमित बने, आन्दोलन, बल प्रयोग र उद्दण्ड क्रियाकलापमा सीमित बने । अब नेतृत्वमा समावेश हुनुपर्छ, व्यावहारिक एवं जिम्मेवार तहमा उपस्थित हुनुपर्छ । कसैको ठेकेदारीको भरमा मुलुक चल्ने, आर्थिक समृद्धि हुने वा बोलेर मात्र विकास हुने होइन । उत्पादनमुलक, सभ्य सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरण लागि युवा आफैँ जागरूकताका साथ नेतृत्व तहलाई घचघच्याउने, सल्लाह दिने, आवश्यक सहयोग गर्ने र स्वयं क्रियाशील हुनुपर्छ ।

(लेखकद्वय ग्रेसन कम्युनिटी कलेज अमेरिका, सूचना प्रविधिमा अध्ययनरत हुनुहुन्छ । )
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds