• १५ चैत २०८०, बिहिबार

विपन्नलाई डेंगु जाँच र उपचार निःशुल्क

blog

डेंगुको लार्भा जाँच गर्दै दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, साउन २५ गते । झापाको दमक नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि डेंगुको सङ्क्रमण जाँच निःशुल्क व्यवस्था गरिएको दमक नगरपालिकाले जनाएको छ । 

डेंगु परीक्षणको मापदण्डअनुसार लक्षण देखिएकाको वडा ६ को आधारभूत स्वास्थ्य केन्द्रमा गएर निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । 

कार्यापालिका बैठकबाट आवश्यक परीक्षणका लागि चाहिने किट किन्ने र वडा ६ को आधारभूत स्वास्थ्य केन्द्रमा परीक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेबमोजिम काम शुरु भएको उहाँले बताउनुभयो । अस्पताल भर्ना भएर उपचार गराउनुपर्ने अवस्थाका विपन्न बिरामीलाई दमक अस्पतालमा उपचारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

दमकमा डेंगु सङ्क्रमण फैलिरहेको छ । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराका अनुसार वार्ड कार्यालयमार्फत टोल विकास संस्थालाई परिचालन गरेर डेंगुको सङ्क्रमण फैलाउने लार्भाहरु नष्ट गर्ने कार्य निरन्तर भइरहेको छ । सबैको साथ र सहयोग भएन भने महामारी रोक्न सकिँदैन, उहाँले भन्नुभयो ।

दमकमा डेंगुबाट धेरै नै बालबालिका प्रभावित बनेको पाइएको छ । दमकस्थित किओच बाल अस्पतालमा साउन महिनाको यो अवधिमा ५० जनाभन्दा बढी बालबालिका जाँच तथा उपचारका लागि अस्पतालमा आएका छन् । दैनिक रुपमा ३ देखि ४ जना डेंगुका बिरामी बालबालिका अस्पताल आउनेगरेको अस्पतालका बालरोग विशेषज्ञ डा. जयमणि श्रेष्ठले बताउनुभयो ।

बिरामीलाई निःशुल्क औषधि

यसैगरी दमक वडा ८ ले आँखा पाक्ने रोगको प्रकोप देखिएपछि आँखामा लगाउने औषधि निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ । वडाध्यक्ष धर्मप्रसाद दाहालका अनुसार स्थानीय ज्येष्ठ नागरिक दमक नगर समिति, जनता आधारभूत विद्यालय, पशुपति संस्कृत मावि, वडा ८ को कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रमा औषधिको निःशुल्क व्यवस्था गरिएको छ ।