• १२ वैशाख २०८१, बुधबार

सामुदायिक वनलाई रोजगारी सिर्जना गर्नेतिर लैजानुपर्छ : अध्यक्ष ओली

blog

सामुदायिक वनको कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, साउन २५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामुदायिक वनलाई रोजगारी सिर्जना गर्ने तथा आम्दानी गर्नेतर्फ रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन दिवसको अवसरमा एमालेको वन तथा वातावरण विभागको आयोजनामा बिहीबार धुलिखेल नगरपालिका –२ रविगाउँस्थित अल्छे सामुदायिक वनमा आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

नेपालमा वन क्षेत्र जोगाउने काममा सामुदायिक वनका सदस्यको ठूलो भूमिका रहेको उहाँको भनाइ छ । “देशमा रहेको वन क्षेत्रमध्ये समुदायिक वन सबैभन्दा बढी सुरक्षित र संरक्षित छ, त्यसैले अब सामुदायिक वनमा हावापानी सुहाउँदा फलफूलका बिरुवा लगाएर रोजगारी सिर्जना गर्न र नागरिकको आम्दानी वृद्धि गर्नेतर्फ अघि बढ्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो । 

उहाँले सामुदायिक वनभित्र मरिच, पान, ल्वाङ, काजु, आँप, कटहर, लिची, अम्बाजस्ता हावापानी सुहाउँदा फलफूल तथा जडीबुटीका बिरुवा रोप्न सुझाव दिनुभयो । उहाँले सामुदायिक वनहरु रोजगारी सिर्जना गर्ने र आम्दानी गर्ने क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । 

अध्यक्ष ओलीले सामुदायिक वनभित्र खाली रहेका र प्रयोगमा आउन नसकेको क्षेत्रलाई बहुआयामिक, बहुउद्देश्यीय उपयोग गरेर सुन्दर र आकर्षक बनाउन सकेमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो । 

उहाँले स्थानीय तहले वनसँग सम्बन्धित निकायसँग मिलेर वन क्षेत्रलाई साँच्चै वनको रुपमा विकास गर्न सुझाव दिनुभयो । उहाँले नेपालमा वन विनाश भएर ठूला वनको रुपमा चिनिएका तराईका वनहरु सकिन लागेको र वातावरण बिग्रन लागेको समयमा देशमा सामुदायिक वनको अवधारणा अघि बढेको बताउनुभयो ।

सामुदायिक वनका कारण नै वन क्षेत्रको विस्तार र संरक्षण भएकाले यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालले सामुदायिक वन र त्यससँग जोडिएका वैभव जोगाउन सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । 


नेपालको सामुदायिक वन कार्यक्रम नमुना कार्यक्रम रहेकाले विदेशीहरुले समेत यसको अध्ययन गर्न लागेको बताउनुभयो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले प्रकृतिको रक्षा र वातावरणको रक्षाविना मानिस र चराचर सृष्टि जगतको अन्त्य हुने भएकाले प्रकृति र मानव जातिलाई जोगाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा एमाले वन तथा वातावरण विभाग प्रमुख भारती पाठकले सहस्राब्दी लक्ष्य पूरा गर्न १५ वटा सूचकहरु वनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले एमालेले ‘एक सदस्य, एक बिरुवा’ को अवधारणा अघि सारेर हरेक वर्ष वृक्षरोपण कार्यक्रममा सहभागी हुँदैआएको बताउनुभयो ।