पुनः म्याद थप्न ठेकेदारको माग

गोपालचन्द्र सुवेदी

kalanki sadakकाठमाडौँ, साउन २८ गते । तीन पटकसम्म म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन नसकेको कलङ्की नागढुङ्गा सडक निर्माणमा ठेकेदारले पुनः म्याद थप्ने आवेदन गरेको छ ।
गत वैशाख मसान्तभित्रै सबै क्षेत्रमा कालोपत्रे गरिसक्ने भनिएको कलङ्की नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ ।
विभिन्न खण्डमा ठेक्का लगाइएको यो सडकको मुख्य ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले अन्तिम पटकका लागि भन्दै म्याद थपका लागि आवेदन दिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुनप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कुल १० किलोमिटरको सडक १८ मिटर चौडा कालोपत्रे गर्ने, बीचमा मेडियन पार्क बनाउने र छेउमा दुवैतर्पm दुई÷दुई मिटर चौडा फुटपाथ बनाउने गरी ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म पनि ठेकेदार कम्पनीले सतुङ्गल, गुर्जुधारा र चेकपोस्ट प्रहरी चौकी आसपास कालोपत्रे गर्न बाँकी छ । त्यस्तै मेडियन र फुटपाथ निर्माणको पनि करिब आधा बाँकी नै छ ।
ठेकेदारले समयमै काम नगर्ने र स्थानीयको मुआब्जालगायतका विवादका कारण यो सडक निर्माण सकसपूर्ण बन्दै आएको छ । आयोजना कार्यालयले यसअघि नै असारभित्र सम्पन्न गर्न निर्देशन तथा निगरानी गरिरहे पनि सम्पन्न हुन नसकेको हो ।
आयोजना कार्यालयका अनुसार ठेकेदारले आगामी जेठ २२ गतेसम्मका लागि म्याद थपको आवेदन गरेको हो । “काम अब धेरै बाँकी छैन, ठेकेदारले पूरा ध्यान दिने हो भने १० दिनमा कालोपत्रे सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो, “अन्तिम अवस्थामा पुगेकाले म्याद थप्नेमा हामी सकारात्मक नै छौँ ।”
करिब एक वर्षको म्याद माग गरे पनि त्यति लामो अवधि नदिने पक्षमा कार्यालय छ । हालै भएको सार्वजनिक खरिदको आठौँ संशोधनले यस्ता रुग्ण जस्तै बनेका आयोजना बन्न सक्ने देखिएमा आगामी जेठ २२ गतेसम्मका लागि अन्तिम म्याद थप गर्ने व्यवस्था गरेको छ । यही आधारमा म्याद थप गर्ने प्रक्रिया अगाडि बढेको हो ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds