• ८ वैशाख २०८१, शनिबार

विजेतालाई दमक परिक्रमा सहित सम्मान

blog

पदक विजेतालाई दमक परिक्रमा गराएर सम्मान ।

विष्णुप्रसाद पोखरेल

दमक, साउन २५ गते । सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता रोशन मगर र रजत पदक विजेता श्यामप्रसाद वास्कोटालाई दमक परिक्रमा सहित सम्मान गरिएको छ । भारतको हैदराबादमा सम्पन्न भएको सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा मगरले स्वर्ण पदक जित्नुभएको हो ।

आइतबार सम्पन्न खेलमा नेपालले २२ स्वर्ण पदक जितेको र त्यसमा एक जना दमकका मगर पनि रहनुभएको जनाइएको छ । झापा आइटीएफ परिवारकोतर्फबाट सम्मान सहित दमक नगर परिक्रमा गराइएको थियो । यसैगरी, काश्यपदक विजेता वास्कोटा र प्रशिक्षक नवीन तामाङलाई गाडीमा हालेर दमक परिक्रमण गराइएको हो ।

सो अवसरमा दमक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याले भारतबाट स्वर्णपदक जितेर आएका मगर सहितको टोलीलाई स्वागत गर्दै खेलकुदको माध्यमबाट दमकलाई चिनाएको भन्दै आभार प्रकट गर्नुभयो । “दमक र नेपालको नै खेलकुदको क्षेत्रमा गौरव बढाउने खेलाडीको सम्मान हामी सबैले गर्नु पर्छ,” उहाँले भन्नुभयो ।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, दुबई, श्रीलङ्का र अफगानिस्तानले भाग लिएका थिए । प्रतियोगितामा २५ देखि ७५ केजीमाथि सम्मका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरी खेल खेलाइएको थियो ।

आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गर्न सफल भएको आइटीएफ झापाका अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार २२ स्वर्ण पदक, १५ रजत र २५ कांस्य गरेर नेपालले कुल ६२ पदक प्राप्त गरेको छ । “आइटीएफमा दक्षिण एसियाको खेलकुद जगतमा नेपालको तर्फबाट नयाँ इतिहास कायम भएको छ,” उहाँले भन्नुभयो ।