संसद्लाई खरिद गरिएका गाडीमा प्राविधिक समस्या, अनियमितताको आशङ्का

 

नारायण काफ्ले

gadiकाठमाडौँ, साउन २८ गते । सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको तयारी थालिएको छ । गत शुक्रबार सभामुख कृष्णबहादुर महरा र समिति सभापतिहरूको छलफलमा गाडीको विषय प्रवेश भएपछि छानबिन प्रक्रिया अगाडि बढाउन लागिएको हो । सभामुख महराले आइतबार राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिसमेत रहनुभएका रामनारायण बिडारीसहित सङ्घीय संसद्का तीन सदस्यलाई छानबिन प्रक्रिया अगाडि बढाउन अख्तियारी दिनुभएको छ । औपचारिक रूपमा समितिलाई पत्र दिइएको छैन ।
सभापति बिडारीसहित प्रतिनिधिसभाका दुई समिति सभापतिलाई छानबिनका लागि अख्तियारी दिइएको हो । कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल र सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहलाई छानबिन प्रक्रिया अगाडि बढाउन सभामुखले आग्रह गर्नुभएको हो । सभामुखले छानबिनबारे टेलिफोनमार्फत जानकारी गराउनुभएको बिडारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘छानबिनको प्रक्रिया अघि बढाउन जानकारी आएको छ तर औपचारिक रूपमा कुनै पत्र पाएको छैन ।’’
गाडीमा प्राविधिक समस्या देखिएको चालकको गुनासोपछि सभापतिहरूले सभामुखसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए । गाडीप्रति सभापतिहरूको असन्तुष्टिपछि सभामुखले छानबिनको आश्वासन उक्त बैठकमै दिनुभएको थियो ।
सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । तीमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ ।
पहिलो र दोस्रो चरणमा खरिद गरिएका दुवै गाडी समिति सभापतिहरूलाई दिइएको छ । सभापतिहरूले बारम्बार गाडी पुरानो भएको दबाब दिएपछि सचिवालयले नयाँ गाडी खरिद गरेको थियो । पछिल्लो चरणमा सचिवालयले पाएका ११ गाडीमा प्राविधिक समस्या देखिएको हो । गाडीमा गेयर, भाइजर, स्पिकर, ढोकालगायतमा समस्या देखिएका छन् । कतिपय समस्या सामान्य प्राविधिक भए पनि एउटा गाडीमा भने बढी समस्या देखा परेको सचिवालयको दाबी छ । उक्त गाडी प्रक्रियागत रूपमा फिर्ता गरेर नयाँ अर्को गाडी दिन आपूर्तिकर्ता कम्पनी तयार भइसकेको पनि सचिवालयका एक अधिकारीले जानकारी दिए ।

सचिवालयले ग¥यो परीक्षण
गाडीमा समस्या भएको गुनासो बढेपछि सोमबार आपूर्तिकर्ता महिन्द्रा तथा सचिवालयका चालक र प्राविधिकसमेत बसेर परीक्षणसमेत गरिएको छ । जसमा एउटा गाडीको ब्याक गेयरमा समस्या देखिएको छ । परीक्षणपछि उक्त गाडी प्रतिस्थापन गर्नेबारे कम्पनी सकारात्मक बनेको छ ।
सोमबार प्रत्यायोजित व्यवस्थापन समिति सभापति बिडारीको गाडी सडकमै परीक्षण गरिएको छ । सचिवालयबाट घरसम्मै पु¥याएर पुनः सचिवालयसम्म गाडी परीक्षण गरिएको छ । यस्तै एउटा गाडीको ढोका नखुलेको विषयमा पनि परीक्षण गरिएको छ । उक्त समस्या भने म्यानुअलअनुसार प्रयोग नभएको निष्कर्ष प्राविधिकहरूको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds