• ८ वैशाख २०८१, शनिबार

मलाई कारागारबाट मुक्त गरियाेस् : खान

blog

इस्लामाबाद,  साउन  २५ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । 

साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् ।

भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तर्राष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक सहरको औपनिवेशिक युगको जेलमा राखिएको छ ।

‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए । गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ । 

गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हट्नुभएका उहाँमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो । 

“अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौँ । मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उहाँलाई राखिएको छ । अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी–क्लासको जेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एकमात्र गद्दा दिइएको छ,” ७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न माग गरिएको उल्लेख गर्दै युसुफजाईले सञ्चारकर्मीहरूलाई बताएका छन् । 

झिँगा र कीराले विद्रूप पारेको कालकोठारीमा नेता खानलाई कोचेको वकिलहरूको भनाइ छ । त्यस्तो वातावरणमा बसेका उनले दासत्व नस्वीकार्ने प्रण पनि गरेका छन् । यद्यपि उनले सजाय भोग्ने तर घुँडा नटेक्ने बताएका छन् । प्रतिकूल परिस्थितिका बाबजुद नेता खान हतोत्साही नभएको वकिलहरूले बताएका छन् ।  रासस/एएनआई